Thaha

Sunday 22 September - 9:19 pm NST

कांग्रेसले मोर्चा र सरकारसँग छलफल गर्ने

काठमाण्डौं, पुस २ । नेपाली कांग्रेसले संविधान संसोधन विधेयकमा संसोधन प्रस्ताव हाल्न मधेशी मोर्चा र सरकारसँग छलफल गर्ने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले संसद्मा पेश भएको संबिधान संसोधन बिधेयकमा मधेशी मोर्चाको असहमति बुँदाबारे छलफल गरेर संसोधन प्रस्ताव दर्ता गराउन पहल गर्ने निर्णय गरेको हो । यसका लागि पदाधिकारीलाई जिम्मेबारी दिईएको सांसद् महेन्द्र यादवले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो । मधेशको समस्या समाधान गर्न सरकार असफल भएको निष्कर्ष निकाल्दै काँग्रेसले समस्या समाधानका लागि अग्रसरता लिन लागेको यादवको तर्क छ ।

संबिधानमा मधेशबादी दलको अपनत्व महसुस गराउन भोलीदेखिनै पदाधिकारीहरुले छलफल थाल्ने सांसद यादवले जानकारी दिनुभयो । मधेशवादी दलको माग अनुसार संबिधान संसोधन बिधेयकमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समावेशी सामानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ यादवले भन्नुभयो, त्यसमा मधेशवादी दलले भाषागत त्रुटी भनेका छन्, उनीहरुसँग भएको सहमति अनुसार हामी संबिधान संसोधन बिधेयकमा संसोधन प्रस्ताव दर्ता गराउँछौ ।

यसअघि पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगंजमा बसेको पदाधिकारी बैठकले पनि मेधश समस्या समाधान गर्न आन्दोलनरत पक्षसँग छलफल गर्ने निर्णय गरेको थियो ।