Thaha

Tuesday 30 April - 5:57 am NST

इन्धन अभावले निर्माणका कामहरु ठप्प

काठमाण्डौं, पुस १ । नेपाल निर्माण व्यवसायी महासंघले इन्धन अभावका कारण निर्माणका सबै काम ठप्प भएको जनाएको छ । मधेशमा जारी आन्दोलन र भारतको नाकाबन्दीका कारण सम्पूर्ण निर्माणका कामहरु ठप्प हुँदा हालसम्म झण्डै १५ अर्व बराबरको क्षति भएको महासंघले उल्लेख गरेको छ ।

महासंघले आज पत्रकार सम्मेलन गरेर हाल देशमा देखिएको इन्धन अभाव हटाउन सरकार र आन्दोलनरत पक्षलाई अनुरोध पनि गरेको छ । निर्माण आयोजनाका कामहरु वन्द हुँदा ती आयोजनाहरुको लागत इष्टिमेट समेत बढ्ने भन्दै बढी हुन जाने लागत इष्टिमेट बरावरको मूल्यबृद्धि रकम उपलब्ध गराईदिन सरकारसँग माग गरेको महासंघका प्रवक्ता बिष्णु बुढाथोकीले वताउनुभयो । महासंघले सम्पूर्ण निर्माण आयोजनाहरुको म्याद कम्तीमा एक वर्ष थप गर्न पनि सरकारसँग माग गरेको छ ।

उत्तरी छिमेकी राष्ट्र चीनसँग जोडिएका नाकाहरु खोल्ने कार्यमा निर्माण व्यवसायीहरुसँग भएका हेभी यन्त्र र उपकरण दिएर सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै महासंघले नेपाल भूकम्पीय जोखिममा रहेकोले निजी निर्माण कार्यहरु समेत अनिवार्य रुपमा ईजाजत–पत्र प्राप्त निर्माण व्यवसायीहरुबाट मात्र गराई भूकम्प प्रतिरोधात्मक निर्माणका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ ।

निर्माण व्यवसायीले लिएको बैंकिङ्ग कर्जाको व्याज मिनाहा गर्न र किस्ता बुझाउने समयावधि थप गर्न, सार्वजनिक खरिद ऐन २०६३ को प्रतिस्थापन विधेयक यथाशिघ्र पारित गर्न सरकार र सांसदहरुलाई महासंघले आग्रह गरेको छ । सन् २०१६ को सेप्टेम्बरमा महासंघले नेपालमा अन्तराष्ट्रिय निर्माण व्यवसायीहरुको महासंघको ३९ औं मीड टर्म बोर्ड भेलाको तयारी गरिरहेको छ । भेलामा नेपाल सहित एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका १७ वटा राष्ट्रहरुले भाग लिनेछन् ।