Thaha

Sunday 22 September - 9:11 pm NST

कांग्रेसको अवरोधले संसदमा प्राधिकरण विधेयक पेश हुन सकेन

संसदको आइतबार बसेको बैठकको अध्यक्षता गर्नुहुँदै सभामुख ओनसरी घर्ती 

काठमाडौं २७ मंसिर । नेपाली कांग्रेसले संसद् अवरोध गरेपछि भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण विधेयक अलपत्र परेको छ । 
भूकम्पपीडितको पुर्नवास र भौतिक क्षतिको पुनर्निर्माणका लागि आवश्यक पुननिर्माण विधेयक संसद्मा पेश गर्न तयारी भए पनि कांग्रेसले बैठक लगातार अवरुद्ध गरेपछि पेश हुन पाएको छैन । आन्दोलनरत मधेशी मोर्चाले मानवीय हिसाबले प्राधिकरण विधेयक पारित गर्न सहयोग गर्न संसद् बैठक अवरुद्ध नगर्ने बताएपनि कांग्रेसले भने अवरोध जारी राखेको छ । आइतबार सिंहदरबारमा भएको सरकार, सत्तारुढ दल र मधेशी मोर्चाबीच दिउँसो भएको त्रिपक्षीय छलफलमा पनि सरकारले कांग्रेसलाई संसद् अवरोध खोल्न आग्रह गरेको उपप्रधान तथा रक्षामन्त्री भिम रावलले जानकारी दिनुभयो तर, पुननिर्माण प्राधिकरण विधेयकसँगै आफ्नो नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकलाई बैठकको कार्यसूचीमा राखेर पेश गर्नुपर्ने कांग्रेसको अडान छ । आइतबार साँढे दुई घण्टा ढिला सुरु भएको बैठक कार्यसूचिमा प्रवेश गर्नुअघि नै कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले प्राधिकरण विधेयक र संविधान संशोधन विधेयक उत्तिकै महत्वपूर्ण रहेकोले सँगसँगै ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले महत्वपूर्ण विधेयक संविधान संशोधनलाई संसदमा ल्याउन सरकार चुकेको तर्क गर्दै संविधान संशोधन विधेयकलाई कार्यसूचिमा नल्याएसम्म संसद बैठक चल्न नदिने बताउनुभयो । श्रेष्ठले बोलिसकेपछि कांग्रेसका सांसदले उठेर अवरोध पु¥याएका थिए । यसअघि मंसिर २४ गतेको बैठकमा पनि कांग्रेसले अवरोध गरेको थियो । 
कांग्रेस सांसद्को अवरोधका बीच सभामुख ओनसरी घर्तीले अर्को बैठकको कार्यसूचिमा संविधान सशोधान विधेयक ल्याउने भन्दै बस्न पटक पटक आग्रह गर्नुभएपनि उनीहरुले अवरोध जारी राखे । बैठक पर्सी २९ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।