आफ्ना एजेण्डा हराउन लागेको मधेसी मोर्चाको आशंका
काठमाडौं २७ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद खुलाउने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको विवादले आफ्ना मुद्दा ओझेलमा परेको गुनासो गरेको छ ।
आइतबार सिंहदरबारमा भएको त्रिपक्षीय वार्ता संसद खुलाउनेमा मात्रै केन्द्रित भएको र राजनैतिक एजेण्डमा प्रवेशै नभएको मोर्चाका नेताले गुनासो गरेका हुन् । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकार र प्रतिपक्षी नेपाली कांग्रेसको झगडाले आफ्ना मुद्दा ओझेलमा पार्ने काम भएको आरोप लगाउनुभयो । उहाँले कांग्रेसले संसद्मा लैजान जोड गरिरहेको संविधान संशोधन विधेयकले मधेस आन्दोलनको माग सम्बोधन नगर्ने ठोकुवा गर्नुभयो ।
मधेसी मोर्चाले सीमांकन हेरफेर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशीताजस्ता ११ बुँदे माग राखेको छ । उपप्रधानमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष भीम रावलले पुननिर्माण प्राधिकरण गठन विधेयकमा सबै दल सहमत रहे पनि संविधान संशोधन विधेयकबारे टुंगो लागिनसकेको बताउनुभयो । दिल्लीबाट फर्के लगत्तै मधेशी मोर्चा, सरकार र दलहरुबीच वार्ता भएपनि कुनै प्रगति हुन सकेको छैन ।