Thaha

Wednesday 08 April - 1:11 am NST

भक्तपुर पुर्ण साक्षर जिल्ला, एकवर्षभित्र ७५ वटै जिल्ला पुर्ण साक्षर हुने मन्त्री पोखरेलको दावी


काठमण्डौं, २७ मंसिर ।  
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आउँदो एक वर्षभित्र ७५वटै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने दाबी गर्नुभएको छ । अनौपचारिक शिक्षा समिति भक्तपुरले आज दरबारस्क्वायरमा गरेको समारोहमा भक्तपुर पूर्ण साक्षर जिल्ला घोषणा गर्दै मन्त्री पोखरेलले यस्तो जिकिर गर्नुभएको हो । उहाँले सरकारले सन् २०१५ सम्ममा देशलाई पूर्ण साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिइएपनि त्यो पूरा हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । भक्तपुरसहित देशमा पूर्ण साक्षर जिल्लाको संख्या २० पुगेको छ । कार्यक्रममा मन्त्री पोखरेलले साक्षर जिल्ला घोषणा भएको अवसरमा जिल्ला शिक्षा कार्यालय भक्तपुरलाई पाँच लाख पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेलले भक्तपुरलाई साक्षर घोषणा गरेपनि त्यसपछिका चुनौतीलाई सामना गर्न सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।सांसद प्रेम सुवालले भक्तपुर जिल्लामा ‘एक घर एक स्नातक’ बनाइने अभियान सुरु गरिएको बताउँदै भक्तपुरलाई ‘ख्वप’ विश्वविद्यालय सञ्चालन गर्न सरकारले तत्काल अनुमति दिन माग गर्नुभयो ।