Thaha

Sunday 22 September - 9:14 pm NST

त्रिपक्षीय वार्ता निश्कर्षहिन


काठमण्डौं, २७ मंसिर ।
संसद खुलाउने विषयमा भएको त्रिपक्षीय वार्ता बिनानिष्कर्ष टुंगिएको छ । सिंहदरबारमा आज भएको वार्तामा संविधान संशोधन र भूकम्प प्रभावित संरचनाको पुननिर्माण प्राधिकरण गठनसम्बन्धी महत्वपूर्ण विधेयकहरु संसदमा पेश गर्नेबारे सहमति बन्न नसकेको हो । वार्तापछि उपप्रधानमन्त्री भीम रावलले पुननिर्माण प्राधिकरण गठन विधेयकमा सबै दल सहमत रहे पनि संविधान संशोधन विधेयकबारे टुंगो लागिनसकेको बताउनुभयो । उहाँले आजको संसद बैठकअघि सभामुखसँग हुने प्रमुख दलका सचेतकहरुको छलफलबाट केही निष्कर्ष निस्कन सक्ने आशा व्यक्त गर्नुभयो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ११ बुँदे मागका सम्बन्धमा पनि छलफल हुने भनिएको वार्तामा कुनै राजनीतिक एजेण्डामा प्रवेश नगरेको नेताहरुले बताएका छन् । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राजनीतिक एजेण्डामा प्रवेशै नगरी वार्ता सकिएको प्रतिक्रिया दिनुभयो । उहाँले आजको वार्ता संसद खुलाउने विषयमा केन्द्रित भएको भन्दै सरकार र प्रतिपक्षी नेपाली कांग्रेसको झगडाले आफ्ना मुद्दा ओझेलमा पार्ने काम भएको आरोप लगाउनुभयो । उहाँले कांग्रेसले संसद्मा लैजान जोड गरिरहेको संविधान संशोधन विधेयकले मधेस आन्दोलनको माग सम्बोधन नगर्ने ठोकुवा गर्नुभयो ।

मधेसी मोर्चाले अहिले संसदमा पुननिर्माण प्राधिकरण गठन विधेयक मात्र लैजाने दिने अडान राखिरहेको छ भने कांग्रेसले संविधान संशोधनसहित दुवै विधेयक सँगै लैजानुर्ने बताउँदै संसदमा अवरोध पु¥याइरहेको छ । दलहरुको वार्ता र छलफलका कारण दिउँसो ३ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु हुन सकेको छैन । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड, मधेसी मोर्चाका महन्थ ठाकुर, उपेन्द्र यादव,लगायतका नेताहरु सहभागि थिए ।