Thaha

Sunday 22 September - 9:11 pm NST

एमाओवादी स्थायी समितीमा गृहमन्त्री बस्नेतलाई फिर्ता बोलाउन माग


काठमण्डौं, २६ मंसिर । 
एकीकृत नेकपा माओवादीका नेताहरुले गृहमन्त्री शक्ति बस्नेतलाई सरकारबाट फिर्ता बोलाउन नेतृत्वलाई दबाब दिएका छन् । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकमा सहभागी नेताले यस्तो माग गरेका हुन् । बैठकमा भूकम्पपीडितका लागि आएको चीन भ्रमणको कोटा गृहमन्त्री बस्नेतले दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन माग उठेको हो । बैठकमा नेता गोपाल किरातीले बस्नेतको काम जस्तापाता घोटाला काण्ड भन्दा कम नभएको भन्दै आलोचना गर्नुभयो । बैठकमा सहभागि वर्तमान सकारका मन्त्री र स्थायी समिति सबै सदस्यले बस्नेतको कामले पार्टीलाई नै बद्नाम गरेका बताएका थिए । 

तिब्र आलोचना भएपछि बैठकमा गृहमन्त्री बस्नेतले आफूले गल्ति गरेको भन्दै नैतिक जिम्मेवारी लिने समेत बताउनुभएको थियो । चीन सरकारले नेपालका भूकम्पपीडित युवायुवतीलाई आफ्नो देशको भूकम्प प्रभावित क्षेत्रमा अवलोकन गराउने परियोजना अन्र्तगत कोटा छनौट गर्ने जिम्मा गृहमन्त्रालयलाई दिएको थियो । ति कोटामा गृहमन्त्री बस्नेतले पार्टी अध्यक्ष प्रचण्डकी नातिनीलाई सहित आफ्ना परिवारका सदस्य, नातेदार एवं पार्टी कार्यकर्तालाई हिजो चीन पठाएपछि यसले पार्टीभित्र आलोचना भएको हो । बैठकमा बस्नेतलाई फिर्ता बोलाउने माग उठेपनि औपचारिक निर्णय भने नभएको र अर्को बैठकमा छलफल गरेर अघि बढ्ने भन्दै आजको बैठक सकिएको किरातीले जानकारी दिनुभयो ।  साथै बैठकले वर्तमान सरकारले नाकाबन्दीका बाबजुत जनतालाई राहत दिन गरी काम गर्न नसकेको निष्कर्ष पनि निकालेको छ । 


यसैबीच एकीकृत माओबादीको केन्द्रीय समिति बैठक आज पनि पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा केन्द्रित रहेर धारणा राख्ने क्रम जारी रहने प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो । यसअघि हिजोको बैठकमा १२ जना केन्द्रीय सदस्यहरुले अध्यक्षको प्रतिवेदनमा आधारित भएर धारणा राखेका थिए । प्रवक्ता शर्माका अनुसार अझै २५ जना केन्द्रीय सदस्यले धारणा राख्न बाँकी छ । सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले प्रतिबेदनमा उठेका जिज्ञासाहरुको जवाफ दिनुहुनेछ ।