Thaha

Sunday 22 September - 7:06 pm NST

कालोबजारी गर्ने युवालाई ज्युउँदै जलाउने मधेसी मोर्चाको प्रयास

काठमाडौं १६ मंसिर । कालोबजारीका लागि इन्धन ल्याएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले नवलपरासीमा एक युवकलाई ज्यूउँदै जलाउने कोसिस गरेका छन् । 
नवलपरासीमा सनही ९ मोर्चाका कार्यकर्ताले रुपन्देहीको फर्साटिकरका सन्दीप यादवलाई पेट्रोल खन्याएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ  । आगोमा जलेर गम्भीर अवस्थामा रहेका यादवको परासीको पृथ्वीचन्द्र अस्पतालमा उपचार भैरहेको छ । यादवको कम्मरमुनिको भाग जलेको छ । यादवको अवस्था गम्भीर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो । नेपाल भारत सीमाक्षेत्रबाट ईन्धन ल्याउँदै गरेको अवस्थामा नवलपरासीको सनहीमा उनले ल्याएको डिजलसहित यादवलाई जलाइएको र यादवको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ । 
यादवले चढेको लु ३ प २०१७ नम्बरको मोटरसाइकल पनि जलेर नष्ट भएको छ । यादवलाई जिउँदै जलाउने प्रयास गरेको आरोपमा प्रहरीले स्थानीय तीन जनालाई पक्रेको र अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।