Thaha

Sunday 22 September - 7:13 pm NST

एकिकृत नेकपा माओवादी केन्द्रिय समिती बैठक आजदेखि


काठमण्डौं, १५ मंसिर । 
पटक पटक स्थगित हुँदै आएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदैछ । दिउँसो २ बजे बस्ने बैठकमा भारतीय नाकावन्दीले पारेको प्रभाव, तराई मधेसको आन्दोलन, संविधान जारी भएपछिको अवस्था, सरकारका कामको समिक्षा हुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।  

बैठकमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँगको पार्टी एकता र बाबुराम भट्टराईको बर्हिगमनको विषयमा पनि छलफल हुनेछ । संविधानसभाबाट संविधान जारी भएपछिको अवस्थालाई हेर्ने दृष्टिकोणमा दुई माओवादीको फरक फरक धारणा छ भने  कार्यदिशामा पनि एकमत छैन । 

संविधान जारी हुनुलाई एकीकृत माओवादीले उपलब्धि ठानेको छ भने क्रान्तिकारी माओवादीले बुर्जुवा संविधान भन्दै आएको छ । त्यस्तै नयाँ जनवादी क्रान्तिका आधारभूत काम पूरा भएकाले अव समाजवादी क्रान्ति गर्दै जाँदा बाँकी काम पूरा हुने एकीकृत माओवादीको विश्वास छ भने क्रान्तिकारी माओवादी नयाँ जनवादी क्रान्तिकै चरणमा रहेको निष्कर्षमा छ ।  

समाधान धारणा बनाएर दुबै पक्ष एकता गर्न तयार रहेकोले  केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि आधार तयार गर्ने प्रवक्ता शर्माको भनाई छ । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक कार्यदिशा र कार्ययोजना सहितको प्रतिवेदन पेश गर्नुहुनेछ ।