Thaha

Sunday 22 September - 7:13 pm NST

आजबाट लाइसेन्स स्मार्टकार्डमा, अनलाइनबाटै फारम भर्ने ब्यवस्था


काठमण्डौं, १४ मंसिर । 
सरकारले आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको वितवरण शुरु गरेको छ । हस्तलिखित सवारी लाइसेन्सको सट्टा विद्युतीय प्रविधिको स्मार्टकार्ड वितरण थालेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्मार्ट लाइसेन्स दिएर सेवाको सुरुवात गर्नु भएको छ । पहिलो चरणमा यातायात कार्यालय वागमतीमा मात्रै स्मार्ट कार्ड वितरण गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

विस्तारै देशभर स्मार्ट लाइसेन्स कार्ड वितरण गर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हस्तलिखित सबै लाइसेन्सलाई स्मार्ट कार्डले विस्थापित गर्नेछ । विद्युतीय लाइसेन्स कार्ड बैंकको एटिएम जस्तै हुन्छ, जसमा लाइसेन्समा उल्लेख गरिएका सबै विवरण राखिन्छन् । स्मार्ट लाइसेन्स वितरणका लागि एसियाली विकास बैंकले करिब १५ करोड रुपैयाँ नेपाल सरकारलाई सहयोग गरेको छ । स्मार्ट लाइसेन्स छाप्ने जिम्मा भारतको मद्रास प्रिन्टर्सलाई दिएको छ ।

यसैबिच वागमती अञ्चल कार्यालयबाट अबको एक हप्ता लाइसेन्स वितरण नहुने भएको छ ।  नयाँ स्मार्ट लाइसेन्सको सफ्टवेयर अपग्रेड गर्नुपर्ने र डाटा ट्रान्सफर गर्नुपर्ने भएकाले कम्तिमा ६ दिन लाइसेन्स वितरणको काम बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ । अनलाइनबाट फारम भर्ने मिल्ने भएकाले सेवाग्राहीलाई लामो समयसम्म लाममा बस्नुपर्ने झण्झट नहुने भएको छ ।