Thaha

Sunday 22 September - 7:20 pm NST

नाकाकन्दी विरुद्ध काठमण्डौंमा मानव साङ्लो प्रदर्शन


काठमण्डौं, १४ मंसिर ।
भारतीय नाकाबन्दी विरुद्ध आज सिंहदरबारदेखी संयुक्त राष्ट्रसंघ भवन पुल्चोकसम्म मानवसांङ्लो बनाएर प्रदर्शन गरिएको छ । राष्ट्रिय स्वाधिनता अभियानले सिंहदरबारको दक्षिणी गेटदेखी बबरमहल, माईतीघर, हुँदै संयुक्त राष्ट्रसंघको नेपालस्थित मुख्यालयसम्म मानवसाङलो निर्माण गरेको हो । मानवसाङलोमा आजपनि विद्यार्थी, मानवअधिकारकर्मी, विभिन्न पेशाकर्मी, पत्रकार लगायतको उपस्थिती थियो । भारतीय नाकाबन्दी, हिंसा र दण्डहिनताको विरोध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न माग गरेका थिए । 

तराई मधेसको आन्दोलन सम्बोधन नभएको, देशमा आपूर्ति व्यवस्थापन हुन नसकेको र भारतले भूपरिवेष्ठित राष्ट्रको पारवहन अधिकार तथा अन्तर्राष्ट्रिय मानविय कानुनको पालना नगरेकोले राष्ट्रिय समस्याको समाधान गर्न र भारतीय हस्तक्षेपविरुद्ध अन्तराष्ट्रिय समूदायको ध्यानाकर्षण गराउन मानवसाङलो बनाएर प्रदर्शन गरिएको राष्ट्रिय स्वाधिनता अभियानको संयोजन गरेका एमाले युवा नेता ठाकुर गैरेले जानकारी दिनुभयो । नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत विभिन्न दलका युवा नेताको पहलमा अभियान थालिएको हो ।

यसैबिच मधेस आन्दोलनको सर्मथनमा वीरगञ्जमा विद्यार्थीले आज मौन मानव साङ्लो प्रर्दशन गरेका छन् । मोर्चाका कार्यकर्ता धर्नाको बसेको मितेरी पुलबाट वीरगञ्जको परवानीपुरसम्म झण्डै १३ किलोमिटर मानव साङ्लो बनाएर विद्यार्थीले प्रर्दशन गरेका हुन् । बिहान ९ बजेदेखि करिब २ घण्टा गरिएको मानव सांङलो प्रर्दशनमा वीरगञ्जका निजी तथा सामुदायीक विद्यालय र उच्च माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी भए । ‘वीर शहिद अमर रहुन, मधेसका माग पुरा गर, बालअधिकार सुनिश्चित गर’ जस्ता नारा लेखिएका प्लेकार्ड विद्याथीले बोकेका थिए ।