Thaha

Wednesday 17 September - 8:41 am NST

दुई वर्षमा देशलाई कृषिमा आत्मनिर्भर बनाउने मन्त्री गजुरेलको प्रतिवद्धता


काठमण्डौं, १३ मंसिर । सन्चु ब्लोन,
सरकारले दुई वर्ष भित्रमा देशलाई कृषिमा आत्म निर्भर बनाउने महत्वाकांक्षी प्रतिवद्धता सार्वजनिक गरेको छ । कृषि  विकास मन्त्री हरिबोल गजुरेलले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी युवा जनशक्तिको विदेश पलायन रोक्दै ब्यवसायिक कृषि प्रवद्र्धन गरी देशलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कृषि उपज विदेश निर्यातको लागि आधार तय गर्ने पनि मन्त्री गजुरेलको योजना छ ।  जसका लागि एक हजारदेखि १५ सयसम्म विशिष्ट बालीको पकेट क्षेत्र तथा एक इलाका एक उत्पादनको अवधारण अगाडि सारिएको छ ।

शुरुमा कम्तिमा ५ सय वटा बृृहत कृषि उत्पादन केन्द्र, ब्लक उत्पादन केन्द्र वा नमुना फार्मको बनाइने मन्त्री गजुरेलले जानकारी दिनुभयो । यसका लागि आर्थिक वर्ष ०७३/०७४ बाट ठोस काम गर्न बजेट सहित आउने उहाँको दावी छ । कृषि मन्त्री गजुरेलले कृषि क्षेत्रका विकासका लागि गर्ने कामका २७ बुँदे प्रतिवद्धता पत्र सार्वजानिक गर्दै तत्काल किसान आयोग गठन गर्ने, खाद्यान्नको न्युनतम समर्थन मुल्य तोक्ने, देशका सबै किसानलाई सेवा पुग्ने गरी सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गर्ने र एक गाउँपालिकामा कम्तिमा १ जना कृषि अथवा पशु प्राविधिकको ब्यवस्था गर्ने बताउनुभयो ।

त्यस्तै सरकारले कृषिमा दिदै आएको अनुदानलाई ब्यवस्थित र वास्तविक किसानको पहुँचमा पुर्याउन कृषक तथा कृषि मजदुरको वर्गिकरण गरी परिचयपत्र वितरण गर्ने, किसानका गुनासा सुन्न तथा खेती प्रविधीको बारेमा जानकारी दिन हेलो कृषि कार्यक्रम सन्चालन गरिने मन्त्री गजुरेलले जानकारी दिनुभयो । वैदेशिक सहायताबाट सन्चालित कृषि परियोजना एकद्धार प्रणालीमा ल्याउने, दुग्धजन्य उत्पादनका लागि उद्योग सन्चालनमा जोड दिदै मिल्क होलिडेको अन्त्य गर्ने मन्त्री गजुरेलले योजना छ ।