Thaha

Sunday 22 September - 5:24 pm NST

सप्तरीमा गोली लागि दुइ आन्दोलनकारीको मृत्युपछि कर्फ्यु, अहिले पनि प्रदर्शन जारी

काठमण्डौं, ६ मंसिर । 
सप्तरीमा आज पनि आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ । कफ्र्युको अवज्ञ गर्दै आज बिहानै मधेसी मोर्चाका कार्यकर्ताले रुपनीमा प्रर्दशन गरेपछि झडप भएको हो । आन्दोलनकारीले अहिले पनि प्रर्दशन गरिहेको छ । रुपनीमा आन्दोलनकारीहरुले एउटा पलसर मोटरसाइकलमा जलाएका छन् । गाईघाटबाट राजविराजतर्फ जाँदै गरेको स४प ५३११ नं को मोटरसाइकल जलाएको प्रहरीले जनाएको छ । 
यसअघि सप्तरीमा प्रहरी र आन्दोलनकारीबीचको झडपमा गएराती दुई जना आन्दोलनकारीको मृत्यु भएको थियो । सप्तरीको राजमार्ग क्षेत्रमा प्रहरी पोष्ट र सुरक्षामा तैनाथ प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारबाहीमा दुई जना आन्दोलनकारीको मृत्यु भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले बताउनु भयो । उहाँका अनुसार घटनामा २० जना प्रहरी र १० जना आन्दोलनकारी घाईते भएका छन । अवस्थालाई नियन्त्रणमा लिनका लागि राजविराज, भारदह र रुपनीमा अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरिएको छ । 
घटनामा सप्तरी गाढा ९ का वीरेन्द्र राम र जमुनी मध्यपुरका नागेश्वर यादवको प्रहरीको गोली लागि मृत्यु भएको हो । घाईते प्रहरी र आन्दोलनकारीको विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रातीको समयमा निषेधित क्षेत्र घोषित राजमार्गमा जम्मा भएका आन्दोलनकारीले प्रहरीमाथी एक्कासी आक्रमण गरेको, प्रहरी पोष्टमा पेट्रोल बम प्रहार गरेको, गोली चलाएको र प्रहरीले जीवनरक्षाका लागि बाध्य भएर जवाफी गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी ठाकुरले बताउनु भयो ।