Thaha

Sunday 22 September - 5:27 pm NST

मधेसमा आन्दोलनलाई सम्बोधन गर्न समान धारणा बनाउन दलहरु सहमत


काठमण्डौं, ५ मंसिर । 
मुख्य राजनीतिक दलबीच तराई मधेसमा भएको आन्दोलनलाई सम्बोधन गर्न समान धारणा बनाउने सहमति भएको छ । समस्या समाधानको प्रयास स्वरुप नेपाली काँग्रेसले आज सत्तारुढ दलसंग गरेको छलफलमा मोर्चाको माग सम्बोधनका लागि समान धारणा बनाउने सहमति भएको हो । काँग्रेस महामन्त्री प्रकाशमान सिंहले दलहरुबीच समान धारणा बनाएर माग सम्बोधनको पहल गर्ने सहमति भएको बताउनु भयो । बैठकमा नेपाली काँग्रेसले संसदमा दर्ता गराएको संविधान संसोधन विधयेक अघि बढाउने बिषयमा पनि छलफल भएको छ । सत्तारुढ दलसंगको बैठकमा काँग्रेसले काँग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका व्यक्तिलाई हटाइएको भन्दै आपत्ति जनाएको थियो ।    
यसैबिच नेपाली काँग्रेसका मधेसबाट प्रतिनीधित्व गर्ने सांसदहरुले मधेसमा जारी समस्या समाधानका लागि सरकारलाई प्रभावकारी दबाब दिन नेतृत्वलाई आग्रह गरेका छन् । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा लामो समयदेखि तराई–मधेसमा आन्दोलन हुँदा समस्या थपिएको र नेपाल–भारत सीमामा देखिएको अवरोधका कारण दैनिक उपभोग्य वस्तुको आयातमा अवरोध पैदा भएको भन्दै सांसदहरुले वार्ता र संवादको माध्यमबाट अगाडि बढ्ने कार्यमा पहलकदमी लिन नेतृत्वलाई सुझाव दिएका हुन् । 
वर्तमान सरकार तीन महिना भईसक्दापनि समस्या समाधानका लागि ठोस र प्रभावकारी वार्ता गर्न तत्पर नदेखिएको  भन्दै उनीहरुले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई तत्काल पारित गराउन नेतृत्वले सरकारलाई दबाब दिनुपर्नेमा जोड दिएका छन् । समानुपातिक, तथा समावेशी प्रतिनिधित्वका लागि आवश्यक व्यवस्था गर्ने उद्देश्यसहीत गत असोज २० गते संदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अझै पारित हुन नसक्दा मधेसको समस्या झन बल्झिदै गएको उनीहरको तर्क छ । बैठकले संविधान संशोधन प्रक्रिया तत्काल अगाडि बढाउन भोली संसदमा दबाब दिने निर्णय गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।