Thaha

Sunday 22 September - 3:07 pm NST

औषधि आयात नरोक्न मधेसी मोर्चालाई गिरिको आग्रह

काठमाडौं, २ मंसिर । मधेसवादी नेतृ एवं पूर्वमन्त्री सरिता गिरीले मानवीय मूल्य मान्यता ख्याल राख्दै औषधि आउन दिने व्यवस्था मिलाइदिन मधेशी मोर्चालाई आग्रह गर्नुभएको छ । 


संघर्षको जस्तो सुकै कठिन चरणमा पनि मानवीय मूल्य मान्यता भूल्न नहुनेमा नेतृ गिरिले जोड दिनुभएको छ । औषधि अभावका कारण बिरामीको असामयिक र दुःखद मृत्युको खबर आउन थालेको भन्दै गिरिले आन्दोलनरत मधेशी मोर्चालाई संवेदनशील हुन आग्रह गर्नुभएको हो । ‘राजनैतिक संघर्षको जस्तो सुकै कठिन चरण र अवस्थामा सहिष्णुता तथा आधारभूत मानवीय मूल्य र मान्यतालाई कहिले पनि बिर्सनु हुँदैन,’ गिरीले आज विज्ञप्ति निकालेर भन्नुभएको छ–‘तसर्थ यस कठिन घडीमा न्यूनतम मानवीय संवेदनशीलताको रक्षार्थ म सम्पूर्ण आन्दोलनकारी मधेसी जनता र दलसँग नाकाबाट औषधि आउन दिने व्यवस्था मिलाईदिन विनम्र आग्रह गर्दछु ।’ 
अनिश्चितकालीन हडताल तथा नाकाबन्दीले मधेससहित मुलुकका सबै जनता प्रभावित भएको भन्दै गिरिले यसबाट गरीब तथा पहुँच नभएका असहाय जनता सबभन्दा बढी पीडित र असुरक्षित भएको तर्फ पनि आन्दोलनकारीको ध्यानाकर्षण गराउनुभएको छ ।