Thaha

Sunday 22 September - 3:25 pm NST

सरकार र मोर्चावीच आज निर्णायक वार्ता

काठमाण्डौं, मंसीर २ । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज निर्णायक वार्ता  हुने भएको छ । वार्ता दिउँसो ४ बजे सिंहदरवारमा हुने एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल प्रचण्डका स्वकिय सचिव चुडामणी खड्काले जानकारी दिनुभयो ।

प्रचण्डले हिजो र अस्ती मोर्चा र कांग्रेस एमालेका नेताहरुसँग अनौपचारिक छलफल गरेपछि आज औपचारिक वार्ता हुन लागेको हो । आजको वार्तामा मोर्चाले राखेको प्रमुख माग प्रदेशको सिमांकनमा केन्द्रीत हुने नेताहरुले बताएका छन् ।  सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायत विषयमा ठोस प्रस्ताव आए आफूहरू सहमतिका लागि तयार भएको सन्देश मोर्चाको तर्फबाट आएपछि औपचारिक वार्ता हुन लागेको हो ।  

सरकारमा सहभागी दलका तर्फबाट वार्ताको वातावरण बनाउने र सहमतिको आधार तयार गर्ने जिम्मा पाए पछि प्रचण्ड अनौपचारिक छलफलमा सकृय हुन भएको थियो । मोरङ र सुनसरीलाई टुक्राएर प्रदेश नम्बर २ मा राख्ने, कैलाली टुक्राएर थरुहटको माग सम्बोधन गर्न सकिने प्रचण्डको प्रस्ताव छ । यो प्रस्तावमा मोर्चामा रहेका सबै दल सकारात्मक भए पनि राजेन्द्र महतोको सदभावना पार्टीले सहमती जनाउन नसक्ने बताएको छ ।

श्रोतका अनुसार आजको बैठकमा यही प्रस्तावमा सहमती हुन सक्ने सम्भावना देखेपछि महतोको सदभावना आजको बैठकमा सहभागि नहुने भएको छ । वार्तामा सहभागि हुँदै आएका सदभावना पार्टीका अध्यक्ष महतो र सहअध्यक्ष लक्ष्मणलाल कर्ण आज विरगञ्जमा हुनुहुन्छ । वार्ताबारे आफूलाई जानकारी नभएको र जानकारी पाए पनि वार्तामा सहभागि नहुने कर्णले बताउनुभयो । तर तराई मधेस सदभावना पार्टीका अध्यक्ष महिन्द्र रायले भने आफूहरुले अघि सारेका मागमा मोर्चामा एकमत रहेको दावी गर्नुभयो ।