Thaha

Friday 03 May - 7:12 pm NST

भारतबाट ३० प्रतिशत इन्धन छाड्ने रणनीति कायमै

काठमाण्डौं, मंसीर १ । भारतले नाका खुकुलो बनाएजस्तो देखिएपनि इन्धनका गाडीहरु भने निकै कम भित्रिएका छन् । विरगंज रक्सौल नाका खुले मात्रै ७० प्रतिशत इन्धन पठाउन सकिने बताउँदै आएको भारतले अन्य नाकाबाट सिमित मात्रामा इन्धन छोडेको छ । भारतले बढीमा ३० प्रतिशत इन्धन छोड्ने रणनीति कायमै राखेको छ । अन्य मालसामानका गाडी भने केही सहज तरिकाले छोडेको छ ।

कपिलवस्तुका ४ बटै भन्सार नाका नियमित सञ्चालनमा आएका छन् । कपिलवस्तुको मुख्य भन्सार कार्यालय कृष्णनगर, मर्जादपुर, खुनुवा, चाकरचौडा लगायतका ४ बटै भन्सार कार्यालय सहज रुपमा सञ्चालनमा आएका हुन् । मोर्चाका कार्यकर्ताले सिमा छेउमा पाल टाँगेर बसेपनि दशैतिहारपछि  विना अवरोध गाडी भित्रिरहेको थाहा सहकर्मी भूपाल थापाले जनाएका छन् । मोर्चाको आन्दोलन र भारतको नाकाबन्दीका कारण अवरुद्ध भन्सार नियमित सञ्चालनमा आएपछि दैनिक ३५ लाख रुपैयाँ राजश्व संकलन हुने भन्सार कार्यालयमा ६५ देखी ७० लाखसम्म राजश्व संकलन भएको कृष्णनगर भन्सार प्रमुख अधिकृत धु्रव विश्वकर्माले जानकारी दिनुभयो । तर, इन्धन आयात भने ठप्प छ ।

रुपन्देहीको बेलहीया नाकाबाट पनि विना अवरोध मालवाहक गाडी नेपाल भित्रिरहको ईलाका प्रहरी कार्यालय वेलहियाले जनाएको छ । तर जम्मा १५ बुलेट ग्याँस मात्रै नेपाल भित्रिएको छ । पूर्वी नाका काँकडभिट्टाबाट आज १० र गएराति १२ ट्याङ्कर इन्धन भित्रिएको छ । जसमा पेट्रोल चार ट्याङ्कर, डिजेल १६ ट्याङ्कर, मट्टितेल र हवाई इन्धन एक÷एक ट्याङ्कर छ । भारत र तेस्रो मुलकबाट गरी ९० वटा मालबाहक ट्रकसमेत नेपाल भित्रिएका छन् । भारत र तेस्रो मुलकबाट गरी ९० वटा मालबाहक ट्रकसमेत नेपाल भित्रिएका छन् ।

नेपालगञ्ज रुपेडिया नाकाबाट ११ वटा डिजेल र ६ वटा पेट्रोलका ट्यांकर र  दुई बुलेट खाना पकाउने एलपी ग्यासपनि आजै भित्रिएको छ । यस्तै ६३ वटा मालबाहक गाडीपनि रुपैँडिया नाकाबाट भित्रिएका छन् । इन्धन ढुवानीका लागि ५५ वटा खाली ट्यांकर गोण्डा पठाइएको नेपाल आयल निगमको क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।