Thaha

Friday 03 May - 7:55 pm NST

चीनले नेपाललाई चाहीनेजति इन्धन उपलब्ध गराउने

काठमाण्डौं, मंसीर १ । चीनले नेपाललाई आवश्यक इन्धन उपलब्ध गराउने भएको छ । यसअघि बढीमा कुल मागको ३३ प्रतिशत मात्रै इन्धन उपलब्ध गराउने समझदारी भएपनि सरकारले थप पहल गरेपछि चीन चाहिने जति सबै खाले इन्धन उपलब्ध गराउन तयार भएको हो ।

आपूर्तिमन्त्री गणेशमान पुनले चिनियाँ समकक्षीसँग गरेको छलफलमा आवश्यक इन्धन उपलब्ध गराउने सहमति भएको स्रोतले जनाएको छ । चीनले डिजेल पेट्रोल, खाना पकाउने ग्याँस सबैखाले इन्धन उपलब्ध गराउन सहमत भएको पुन निकट स्रोतको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाह अनुसार गोप्य रुपमा चीन पुगेका आपूर्तिमन्त्री पुन इन्धन आयातका विषयमा सबै विषय टुंग्याएर आज फर्कँदै हुनुहुन्छ । आपूर्तिमन्त्री पुन आज १० बजे काठमाण्डौं आईपूग्नु हुनेछ । 

अब एक दुईदिन भित्रै नेपाल आयल निगम र आपूर्ति मन्त्रालयको टोली चीन गएर सबै प्राविधिक सम्झौता गर्नेछ । चीनले कतिपय इन्धन नेपालसम्मै ल्याईदिन पनि सहयोग गर्ने भएको छ । सम्झौता भएको एकहप्ता भित्रै तेल पठाउनका लागि सहयोग गर्ने चीनको भनाई छ ।

चीनले नेपाल तर्फको सडक निर्माणमा सहयोग गर्ने वचन पनि दिएको छ । इन्धन आपूर्तिका लागि बाटो अफ्ठेरो भएकाले त्यसको स्तरोन्नती गर्न पनि चीनले वचन दिएको आपूर्तिमन्त्री निकट स्रोतले जनाएको छ । चिनियाँ प्राविधिक टोली केही दिन अघि मात्रै नेपालतर्फको सडकको अध्ययन गरेर गएको थियो ।