Thaha

Friday 03 May - 5:43 pm NST

चुरे क्षेत्रका वन्यजन्तुको अध्ययन आधुनिक प्रविधीबाट हुने


काठमण्डौं, १ मंसिर ।
चुरे क्षेत्रमा रहेका वन्यजन्तुको अवस्था तथा विविधताबारे अध्ययन गर्न आधुनिक प्रविधिको प्रयोग गरिने भएको छ । राष्ट्रपति–चुरे तराई मधेस संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच वन्यजन्तुको अवस्थाको अध्ययन गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 
वन तथा भूसंरक्षणमन्त्री तथा कोषका अध्यक्ष अग्निप्रसाद सापकोटा र समितिका अध्यक्ष रामेश्वर खनालको उपस्थितिमा समितिका सदस्य सचिव डा अन्नपूर्ण नन्ददास र कोषका सदस्य सचिव गोविन्द गजुरेलले सम्झौतापत्रमा  सोमबार हस्ताक्षर गर्नुभएको समितीका सदस्य एवं प्रबक्ता फुर्पा तामाङले जानकारी दिनुभयो । सम्झौतापछि अब समिति र कोषका वैज्ञानिकले संयुक्त रुपमा स्वचालित क्यामरा तथा अन्य आधुनिक प्रविधिको प्रयोग गरी अध्ययन गर्ने गरिने प्रबक्ता तामाङले बताउनुभयो । 
चुरे क्षेत्रमा रहेका स्तनधारी, पक्षी, सरिसृप, माछा तथा कीटपतंगको अवस्था तथा तिनीहरूको सघनता समेत अध्ययन गरी मुलुकबाट पहिलो पटक आधारभूत तथ्यांक संकलन गरिनेछ । त्यस्तै चुरे क्षेत्रमा पाइने जैविक विविधताका विशेष क्षेत्र पहिचान र वन्यजन्तुको संरक्षणमा रहेका चुनौतीको आँकलन गरी संरक्षणलाई प्रभावकारी बनाउने उपायको सिफारिस समेत अध्ययनले गर्नेछ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा चुरे संरक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । सरकार र वन मन्त्रालयको समन्वयमा गरिने अध्ययन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन विभाग, राष्ट्रपति–चुरे तराई समिति, प्रकृति संरक्षण कोष, संरक्षण साझेदार र स्थानीय समुदायसँगको सहकार्यमा पूरा गरिनेछ । 
दुई करोड ९१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्ययनका लागि समितिले दुई करोड ४४ लाख र बाँकी रकम कोषले व्यहोर्ने सम्झौतापत्रमा उल्लेख छ ।