Thaha

Sunday 22 September - 3:11 pm NST

आपूर्ति सहज बनाउन बाणिज्य तथा आपूर्ति मन्त्री पुनको दौडधुप

काठमाडौं २७ कार्तिक । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस चीनबाट तत्कालनै आपूर्ति गर्ने विषयमा वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले चीन पुगेर उच्चस्तरीय छलफल थाल्नु भएको छ  । 


अस्ति बेलुकी गोप्यरुपमा चीन प्रस्थान गरेका मन्त्री पुनले नेपालमा आवश्यक पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस, खाद्यान्न र तरकारी तथा फलफुल आपूर्तिका लागि चिनियाँ उच्च अधिकारीसंग छलफल गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । 

 

भोलीसम्म नेपाल फर्किने मन्त्री पुनले चीनबाट तत्काल पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस, खाद्यान्न लगायतका बस्तु तथा पदार्थको आयात गर्ने ठोस सहमति गर्ने बुझिएको छ । चिनियाँ अधिकारी र नेपाली प्रतिनिधि मण्डलले अबको केहीदिन भित्रमा नेपाल चीन विभिन्न नाकाको अध्ययन गर्ने र पेट्रोलियम पदार्थ लगायत अरु अत्यावश्यक सामाग्री ल्याउने विषयमा सहमति हुने स्रोतले जनाएको छ । 

भ्रमणका विषयमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै जानकारी गराउनु भएको स्रोतले जनाएको छ । भारतीय दूतावास चिनियाँ नाकाबाट आयात गर्ने विषयलाई रोक्न सक्रिय भएपछि मन्त्री पुनले चिनियाँ समकक्षीसंग फोनवार्ता गरेर चीन भ्रमण गर्नु भएको हो । 

राजनीतिक दलका नेता, सरकारी कर्मचारी र नेपाल आयल निगमका केही उच्च अधिकारीलाई दूतावासले प्रभावमा पारेर चीनबाट आपूर्ति रोक्न खोजेका कारण मन्त्री पुनले आफ्नो भ्रमणलाई गोप्य बनाउनु भएको स्रोतको दावी छ । यसअघि मन्त्री पुनकै पहलमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउने सहमति भएको थियो ।