भिआइपीको तिहार कस्तो ?
काठमाडौं २७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कान्छा भाइ डेगेन्द्र र बहिनी सुशीलाका साथमा राष्ट्रपति शीतल निवासमा भाइटिका लगाउने तयारी गर्नुभएको छ । उहाँका तीन दाजुभाइ र एक बहिनी छन् । तर जेठा दाइ तेजेन्द्र र माइला टेकेन्द्र पाण्डे अमेरिकामा बस्दै भएकाले काठमाडौंमा रहेका भाई डेगेन्द्रसँग टिका लगानुहुने छ ।
यस्तै उराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी बहिनी काठमाडौं नआएकोले काठमाडौंमा रहेका नजिकका दिदीबहिनी पर्नेहरुसित टीका लगाउने तयारी गर्नुभएको छ । पुनका पाँच जना दाजुभाइ र दुई जना दिदीबहिनी छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी विष्णुमाया ढकाल र विष्णुमाया सिवाकोटीको हातबाट टिका लगाउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
यस्तै सभामुख ओनसरी घर्तिको भने यसपटक तिहार मनाउने तयारी छैन । केही महिनाअघि उहाँका बुवाको मृत्यु भएकाले उहाँले यसपटक तिहार मनाउनुहुने छैन । उहाँका श्रीमान तथा एकीकृत माओबादी नेता वर्षमान पुन अनन्त पनि उपचारकोलागि भारतमा हुनुहुन्छ ।
हाल उपचारका लागि अमेरिकामा रहेका पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पनि टिका लगाउनु हुन्न । उहाँका भाई डाक्टर अरुण कोइराला यसवर्ष बितेकाले कोइराला परिवारले टिका लगाउने छैन ।
यस्तै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा लागेदेखि दशै तथा भाइटीका लगाउनु हुन्न । भाइटीका नलगाए पनि प्रचण्डले दिदी बहिनी एवं परिवारजनसँग बसेर खानपिन एवं रमाइलो गर्ने गरेको नीजि सचिवालयले जनाएको छ ।