नेपाल संवतको नयाँ वर्ष ११३६ शुरु
काठमाडौं, कात्तिक २६ । नेपालको मौलिक संवत नेपाल संवत्को नयाँ वर्ष ११ सय ३६ आजदेखि शुरु भएको छ । आज नेपाल भर विविध कार्यक्रम गरी नेपाल संवतको नयाँ वर्ष मनाइँदैछ । यो संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले चन्द्रशम्शेरको शासनकाल विसं १९६० सम्म राष्ट्रिय संवत्को मान्यता पाएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिनुभयो । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेकोमा नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् भएको उहाँले बताउनुभयो । विसं १९६० बाट भने नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिन छोडिएको थियो ।नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबीसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५५ सालमा सरकारले साख्वालाई राष्टिय विभूति घोषणा गरेको थियो ।