प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार / उपप्रधानमन्त्रीको संख्या ६ पुग्यो
काठमाडौं, १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
प्रधानमन्त्रीले तीन उपप्रधानमन्त्री सहित ७ जना मन्त्रीलाई थपेर मन्त्री परिषद् विस्तार गर्नुभएको हो । अव मन्त्रीहरुको संख्या २६ पुगेको छ । मन्त्री परिषद्ले पूर्णता भने अझै पाइसकेको छैन । नेकपा एमाले, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकबाट अझै मन्त्री बन्न बाँकी छ । राष्ट्रपति विद्या भण्डारीले शीतल निवासमा आज ७ जना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाउनुभयो । बिहीबार एमालेबाट उपप्रधान तथा रक्षा मन्त्रीमा भिम रावल, अर्थमन्त्रीमा विष्णु पौडेल, सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा शेरधन राई, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा आनन्द पोखरेल र शान्ता मानवीलाई विना विभागिय मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपप्रधानसहित सहकारी तथा गरिबी निवारण र नेकपा मालेका महासचिव सीपी मैनालीले उपप्राधानसहित महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । यो सँगै उपप्रधानमन्त्रीको संख्या ६ पुगेको छ । यसअघि एकीकृत माओवादीका सविच टोपबहादुर रायमाझी, राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री बनिसक्नु भएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले केही विनाविभागिय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्नु भएको छ । यसअघि विनाविभागिय मन्त्री रहेका एमालेका सत्य नारायण मण्डललाई युवा तथा खेलकुद्, राप्रपा नेपालका रामकुमार सुब्बालाई भूमि सुधार तथा व्यवस्था, फोरम लोकतान्त्रिकका राम जनम चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै बहुजन समाजवादी पार्टीका विश्वेन्द्र पास्वानलाई विज्ञान, प्रविधि तथा वातावरण र मधेस समता पार्टीका मेघराज नेपालीलाई उद्योग राज्य मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
रक्षा, शान्ति तथा पुर्ननिर्माण र संघीय मामिला तथा स्थानीय विकास, शहरी विकास मन्त्री बन्नेहरुको अझै टुंगो लागेको छैन भने अझै केही मन्त्रालय टुक्राउने प्रधानमन्त्रीको तयारी छ । यी मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहनुभएको छ ।