Thaha

Sunday 22 September - 1:37 pm NST

एमालेले सरकारमा पठाउने मन्त्रीहरुको नाम आज टुंगो लगाउने

काठमाडौं, १७ कार्तिक । नेकपा एमालेले सरकारमा पठाउने मन्त्रीहरुको नाम आज टुंगो लगाउने भएको छ । आज दिउँसो बस्ने स्थायी कमिटी बैठकले सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउने पार्टी सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

यसअघि हिजो बसेको बैठकमा शीर्ष नेताहरुबीच सहमति हुन नसक्दा सरकारमा जानेहरुको टुंगो लाग्न सकेको थिएन । एमालेले उपप्रधानसहित ७ मन्त्री छान्न बाँकी छ ।

राप्रपा नेपालले मन्त्री हुनेहरुको नाम बुझाइसकेकाले एमालेबाट टुंगो लाग्ने बित्तिकै मन्त्रीपरिषद बिस्तार हुने सचिव ज्ञवालीले बताउनुभयो । राप्रपा नेपालले स्थानीय विकास र परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा अध्यक्ष कमल थापालाई पठाउने भएको छ । थापाले हाल उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाली रहनुभएको छ ।

भूमिसुधार मन्त्रीमा रामकुमार सुब्बा, स्थानीय विकास राज्य मन्त्रीमा कुन्तीकुमारी शाही र सहायक मन्त्रीमा विराज विष्ट, भूमिसुधार राज्य मन्त्रीमा विक्रम थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठलाई सिफारिस गरेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।