Thaha

Sunday 22 September - 1:25 pm NST

नवनिर्वाचित उपराष्ट्रपतिको प्रेरक जीवनी

काठमाडौं (कार्तिक १४) । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्धन्द्धका क्रममा चर्चित नाम हो–पासाङ । भूमिगत कालमा नन्दकिशोर पुन पासाङ नामले चिनिए पनि नागरिकताको नाम भने नन्दबहादुर पुन छ । ५० बर्ष अघि बुवा रामसुर पुन र आमा मनसरा पुनको कोखबाट रोल्पाको राङ्सी—९ मा जन्मिएका पुन पाँच भाईमध्ये माइला हुनुहुन्छ । उहाँले आईएसम्मको अध्ययन गर्नुभएको छ । 
२०३७ सालबाटै बामपन्थी राजनीति यात्रा सुरु गरेका पुनले २०४६ सालमा तत्कालीन मशालको पार्टी सदस्य हुनुभयो ।  ०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकताकेन्द्र मशालको सदस्य तथा युवक संगठनको सदस्य हुँदै २०४८ सालदेखि  पूर्णकालीन भएर काम गर्नुभयो । एकताकेन्द्र बने लगतै भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन हुनुभयो । सशस्त्र संघर्षको तयारी गर्दा वाईसिएलको रोल्पा जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहेका पुन २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र संघर्ष सुरु गरेको पहिलो दिन रोल्पाको होलेरी इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा उत्तरपश्चिम र दक्षिण कमाण्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमाण्डर हुनुहुन्थ्यो । ०५४ मा नेकपा माओवादीको क्षेत्रीय व्यूरो सदस्य भएका पुन ०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्य र भारतको गोवामा ०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटव्यूरो सदस्य हुनुभयो । ०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिनु भएका पुन ०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा चुनिनु भयो । ०७० जेठमा भएको पदाधिकारी, स्थायी समिति र पोलिट्व्यूरो सदस्यहरुको निर्वाचनमा उहाँ स्थायी समिति सदस्यमा निर्वाचित हुनुभयो ।
माओवादीले ०५३ मा लडाकू सदस्यलाई समेटेर स्क्वायडमा रुपान्तरण ग¥यो, तीनवटा स्क्वायडको नेतृत्व पनि उहाँले नै गर्नुभएको थियो । नेकपा माओवादीले २०५५ मा टास्कफोर्स बनाउँदा होस् वा २०५६ मा प्लाटुनहरुलाई समेटेर कम्पनी बनाउँदा त्यसको कमाण्डर पनि पुन नै हुनुभयो । सरकारसँगको पहिलो वार्ता असफल हुन लागेपछि ०५८ कात्तिकमा माओवादीले रोल्पाको कुरेलीमा भेला गरेर औपचारिक रुपमा जनमुक्ति सेनाको गठन गर्दै बटालियन तहको सैन्य संरचना बनाउँदा पनि कमाण्डर पुन नै बन्नुभयो । ०५९ मा माओवादीले आफ्नो सेनाको व्रिगेड संरचना बनाउँदा मात्रै होईन त्यसपछि बनेको दुईवटा डिभिजनमा उहाँका पश्चिम डिभिजनको कमाण्डर हुनुभयो । लगतै माओवादीले तीनवटा डिजिभन बनायो । र, नन्दकिशोर पुनले मध्य कमाण्ड सम्हाल्नुभयो ।  ०६२ मा भएको बहुचर्चित चुनबाङ बैठकपछि माओवादीले सातवटा डिभिजन बनायो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुप्रिम कमाण्डर तथा बर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर, नन्दकिशोर पुन पासाङ र चन्द्रप्रकाश खनाल बलदेव डेपुटि कमाण्डर बने । शान्तिप्रक्रियापछि प्रचण्डले सुप्रिम कमाण्डर छाडेपछि जनमुक्ति सेनाको प्रमुख पासाङ हुनुभयो । 
पुनले युद्धका क्रममा आफ्नो नेतृत्वमा आक्रमण गर्ने योजना सबै आफै बनाउने गरेको आफ्ना सहकर्मीहरु सुनाउँछन् । परिपक्व तयारी गर्ने र हिम्मतका साथ लडाईंको कुशल नेतृत्व गर्ने शैलीको माओवादीभित्र धेरैले प्रशंसा गर्छन । ०५२ फागुन १ गते होलेरी आक्रमणमा सह–कमाण्डरबाट लडाई यात्रा सुरु गरेका पुनले त्यसपछिको लडाई भने प्रमुख कमाण्डर भएर लड्नुभयो । प्रहरीमाथि भएको रोल्पाको होलेरी, जेलबाङ, घर्तिगाउँ, सल्यानको झिम्पे, जाजरकोटको लाहाँ, पाँचकटिया, रुकुमको महत, तकसेरा, रुकुमकोटको आक्रमण पनि पुनले नै गर्नुभयो । पहिलो सदरमुकाम आक्रमण डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम आक्रमण कर्णालीको जुम्लामा पनि पुनले नै नेतृत्व गर्नुभएको हो । पुनले तत्कालीन शाही नेपाली सेनामाथीको पहिलो आक्रमण दाङको घोराही, अछामको मंगलसेन, अर्घखाँचीको सन्धीखर्क, म्याग्दीको बेनी आक्रमणका नतृत्व गर्नुभयो । रोल्पाको गाम र लिस्ने लडाईको नेतृत्वमा पनि पुन नै हुनुहुन्थ्यो । सशस्त्र द्धन्द्धमा सैन्य संरचनाका लागि आवश्यक पर्ने सैन्य कोर्श पुनले बनाउनुभएको थियो । शान्ति प्रकृयामा आएपछि सेना समायोजनमा महत्वपूर्ण भूमिका खेलको पुनले यो बीचमा कुनै पनि लाभको पद लिनुभएन । सुरुमा माओवादीले पुनलाई सेनामा दोस्रो भूमिका दिएर लडाकू समायोजन गर्ने प्रस्ताव गरे पनि अन्य दलहरुले अस्वीकार गरे । तर, आज उनै पुन राज्यको दोस्रो ठूलो पदमा पुग्नुभएको छ ।