Thaha

Sunday 22 September - 1:25 pm NST

मुलुकले आज नयाँ उप–राष्ट्रपति पाउँदै , पासाङ्ग र अमियकुमार मैदानमा

काठमाडौं, १४ कार्तिक ।  नयाँ  उपराष्ट्रपति चयनका लागि आज  व्यवस्थापिका संसदमा मतदान हुने भएको छ । सहमतिमा उपराष्ट्रपति चयन हुन नसकेपछि बहुमतिय प्रकृया अन्तरगत आज मतदान हुन थालेको हो । उपराष्ट्रपति छान्न गोप्य मतदान हुनेछ  ।

उपराष्ट्रपतिका लागि सत्तागठबन्धनका तर्फबाट एकीकृत नेकपा माओवादीले पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन पासाङ्गलाई उम्मेदवार बनाएको छ भने प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले अमियकुमार यादवलाई उम्मेदवार बनाएको छ । हिजो उम्मेदवारी दिएका चार जना मध्यबाट दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

 व्यवस्थापिका संसद सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमका अनुसार उपराष्ट्रपतिको चुनाव आज बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा हुनेछ ।

दिउँसो साढे दुईबजेदेखि मतगणना शुरु हुने र बेलुकी पाँच बजेसम्म सभामुखलाई उपराष्ट्रपतिको मत परिणाम बुझाईनेछ । बेलुकी पाँच बजेबस्ने व्यवस्थापिका संसद बैठकमा  सभामुख ओनसरी घर्तीबाट उपराष्ट्रपति चुनावको मत परिणामसँगै निर्वाचित भएको घोषणा गर्नु हुनेछ । उपराष्ट्रपतिमा पासाङ्गको विजयी हुने निश्चित जस्तै छ । उपराष्ट्रपतिमा चुनिन  २ सय ९९ मत आवश्यक पर्नेमा सत्ता गठबन्धनसँग ३ सय ४० मत छ ।

नेपाली काँग्रेससँग २ सय ७ मत  छ । मधेशवादी दलले मतदानमा भाग नलिने बताईसकेका छन् ।  निर्वाचित उपराष्ट्रपतिले ०६५ सालमा निर्वाचित पहिलो उपराष्ट्रपति परमानन्द झालाई बिस्थापित गर्नेछन ।