Thaha

Sunday 22 September - 1:36 pm NST

एमाओवादीले उपराष्ट्रपतिमा नन्दकिशोर पुन पासाङ्गलाई सघाउन सत्ता साझेदार दलहरुलाई आग्रह गर्ने

काठमाडौं, १३ कार्तिक । एकीकृत नेकपा माओवादीले उपराष्ट्रपतिमा पार्टीले प्रस्ताव गरेका उम्मेदवार नन्दकिशोर पुन पासाङ्गलाई सघाउन सत्ता साझेदार दलहरुलाई आग्रह गर्ने भएको छ । अहिले केहीबेरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने माओवादी स्थायी समिति बैठकले उपराष्ट्रपतिको चुनावका विषयमा छलफल गर्ने तयारी गरेको छ ।

सत्तारुढ दललेनै पासाङ्गलाई उम्मेदवार नबनाउन गरेको आग्रहमा छलफल हुने र आजै बस्ने उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा आफ्ना उम्मेदवारलाई सघाउन आग्रह गर्ने नेताहरुले बताएका छन । यसैबीच एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बिहान नौ बजे बस्ने भएको छ ।उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले बैठकले सर्वसम्मत उपराष्ट्रपति पदको उमेद्बार तय गर्ने समिति सदस्य तथा नेकपा मालेका महासचिव सीपी मैनालीले जानकारी दिनुभयो ।

यसअघि हिजो बसेको बैठकमा उपराष्ट्रपति पदको उमेद्बारका बिषयमा छलफल भएपनि टुंगो लागेको थिएन । समितिमा मधेशी वा थारु समुदायबाट उपराष्ट्रपति बनाइनुपर्ने आवाज उठेकाले थप छलफल आवश्यक परेको महासचिव मैनालीले बताउनुभयो । साना दलहरुले नेकपा संयुक्तका अध्यक्ष गणेश साहको नाम अघि सारेको पनि उहाँले जानकारी दिनुभयो । यसैबीच प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने सिराहका सांसद अमियकुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।