Thaha

Sunday 22 September - 1:30 pm NST

उपराष्ट्रपति चयनका लागि आजदेखि प्रकृया शुरु


काठमाडौं, १३ कार्तिक । नयाँ  उपराष्ट्रपति चयनका लागि आजदेखि प्रकृया शुरु हुने भएको छ ।  त्यसका लागि  बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका व्यवस्थापिका संसद सचिवालयले सार्वजनिक गरेको छ ।

उपराष्ट्रपतिका लागि एकीकृत नेकपा माओवादीले नन्दकिशोर पुन पासाङ्गलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले अमियकुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तर पासाङ्गका विषयमा सत्तासाझेदार दलले असहमति जनाएको स्रोतको भनाई छ ।

सचिवालयले आजै दिउँसो साढे एक बजे उम्मेदवारी दर्ता भएका प्रस्ताव बमोजिम उपराष्ट्रपतिको उम्मेदवारको वर्णानुक्रमानुसारको नामावली प्रकाशन गर्ने सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले बताउनु भयो । आजै दिउँसो दुई बजे उम्मेदवारको नामावलीमाथि दाबी बिरोध, साढे दुई बजे उम्मेदवारी फिर्ता लिनसक्ने र दिउँसो तीन बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तय गरिएको गौतमले बताउनु भयो ।

उपराष्ट्रपतिको चुनाव भने भोली बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा हुनेछ । बेलुकी पाँच बजेबस्ने व्यवस्थापिका संसद बैठकमा  सभामुखबाट उपराष्ट्रपतिको मत परिणामसँगै निर्वाचित भएको घोषणा हुनेछ ।