Thaha

Sunday 22 September - 1:34 pm NST

विद्यादेवी भण्डारी नेपालको नयाँ राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, ११ कार्तिक ।नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी नेपालको दोस्रो राष्ट्रपति बन्नु भएको छ । व्यवस्थापिका संसदमा भएको निर्वाचनमा ३ सय २७ मत प्राप्तगरी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति र नेपालको दोस्रो राष्ट्रपति बन्नु भएको हो ।

राष्ट्र प्रमुख महिला भएको नेपालमा यो नै पहिलो पटक हो । यसअघि विक्रम संवत २०६५ सालमा डाक्टर रामवरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्नुभएको थियो ।  नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानको परिणाम अनुसार उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङ्गले २ सय १४ मत प्राप्त गर्नु भयो ।

बिहान ११ बजे नयाँ राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा भएको मतदान दिउँसो दुई बजे सकिएको थियो ।  ५ सय ९७ सांसदमध्ये ५ सय ४९ जनाले राष्ट्रपति निर्वाचनमा गोप्य मतदान गरेका थिए । साढे  दुईबजेदेखि मतगणना थालिएको थियो । सचिवालयले  ५ बजे निर्वाचन परिणाम सभामुख ओनसरी घर्ति समक्ष पेश गरेपछि बसेको व्यवस्थापिका संसद बैठकमा सभामुखले एमाले नेतृ भण्डारी राष्ट्रपति निर्वाचित भएको घोषणा गर्नु भयो । नवनिर्वाचित राष्ट्रपति भण्डारीले भोली सपथ ग्रहण गर्नुहुनेछ ।

भोली दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा भव्य समारोहका बीच राष्ट्रपति भण्डारीले सपथ लिने तयारी गरिएको छ ।संवैधानीक व्यवस्थाअनुसार नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सपथ ग्रहण गराएलगत्तै निवर्तमान राष्ट्रपति डाक्टर रामबरण यादवले राष्ट्रपति भण्डारीलाई पदभार हस्तान्तरण गर्ने कार्यक्रम छ ।