Thaha

Tuesday 07 April - 6:23 pm NST

विश्वका सबै राष्ट्र स्वतन्त्र भएको नेपालले हेर्न चाहेको छ–प्रधानमन्त्री


काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले साना मुलुकमाथि ठूला शक्तिले लाद्ने प्रभूत्ववाद, उपनिवेशवाद र साम्राज्यवादको विरोधमा नेपालले सधै आवाज उठाउँदै आएको बताउनुभएको छ ।  

इन्डोनेसियाको जकार्ता तथा वाङ्डुङमा अस्तिदेखि शुरु भएको वाङ्डुङ सम्मेलनको ६० औँ वर्षगाँठ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सफलताको सन्देश दिँदै प्रधानमन्त्री ओलीले विश्वका सबै राष्ट्र स्वतन्त्र भएको नेपालले हेर्न चाहेको पनि स्पष्ट गर्नुभएको छ । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट अघोषित नाकाबन्दी जारी रहेका बेला प्रधानमन्त्री ओलीको यस्तो वक्तव्य आएको छ ।

५७ बर्ष अगाडि स्थापित नेपाल अफ्रोएसियाली जनएकता सङ्गठन (आप्सो) का वर्तमान अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपालमा नयाँ संविधान जारी भएपछि मुलुकले गणतन्त्रलाई संस्थागत गरेको पनि अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट पार्र्नुुभएको छ । सम्मेलनमा भाग लिन नेपालका तर्फबाट सङ्गठनका उपाध्यक्ष डा प्रदीपकुमार खड्काको नेतृत्वमा टोली प्रस्थान गरिसकेको आप्सोका महासचिव डा गोपाल पोखरेलले जानकारी दिनुभयो । सम्मेलन पर्सिसम्म चल्नेछ ।