Thaha

Sunday 22 September - 11:31 am NST

मुलुकले आज नयाँ राष्ट्रपति पाउँदै

काठमाडौं, ११  कार्तिक । नयाँ राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा मतदान भइरहेको छ । ल्होत्से हलमा विहान ११ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेसम्म चल्ने संसद सचिवालयले जनाएको छ ।

साढे २ बजेदेखि मतगणना शुरु गरी पौने ५ बजे निर्वाचन परिणाम सभामुख ओनसरी घर्ति समक्ष पेश हुने र बेलुकी ५ बजे बस्ने संसद बैठकमा राष्ट्रपति निर्वाचित भएको घोषणा हुने निर्वाचन अधिकृत मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रपतिका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेकी विद्या देवी भण्डारी र विपक्षी नेपाली काँग्रेसका तर्फबाट कुलबहादुर गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रपतिमा एमाले उम्मेदवार भण्डारी विजयी हुने निश्चित जस्तै छ ।

राष्ट्रपतिमा चुनिन २ सय ९९ मत आवश्यक पर्नेमा सत्ता गठबन्धनसँग ३ सय ४० मत छ । नेपाली काँग्रेससँग २ सय ७ मत  छ । मधेशवादी दलले मतदानमा भाग नलिने बताईसकेका छन् । ०६५ सालमा वर्तमान राष्ट्रपति रामवरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्नुभएको थियो ।