Thaha

Sunday 22 September - 11:26 am NST

राष्ट्रपति र उपराष्ट्रिपति चयनका लागि प्रक्रिया सुरु, भोली मतदान हुने

काठमाडौं, १० कार्तिक । नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै छ । बिहान १० बजेबाट दिउँसो १ बजेसम्म नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति–उपराष्ट्रपति पदको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहमतिका आधारमा राष्ट्रपति–उपराष्ट्रपति छान्न कार्तिक ७ गते एक दिनको समय दिए पनि दलहरुबीच सहमति नभएपछि बहुमतीय प्रक्रिया अघि बढेको हो । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान दर्ता भएका उम्मेदवारको अन्तिम नामवली दिउँसो साढे १ बजे प्रकाशन गरिनेछ ।

प्रकाशित नामावलीमाथि दाबी÷विरोध गर्न दिउँसो २ बजेसम्मको समय छुट्याइएको छ भने साँढे २ बजे उम्मेदवारी फिर्ता लिने समय छ । राष्ट्रपति–उपराष्ट्रपति पदमा एक एक जनाको मात्रै उम्मेद्वारी परेमा आजै दिउँसो ३ बजे निविर्रोध निर्वाचित भएको सूचना सभामुख ओनसरी घर्ती मगरलाई जानकारी गराउने निर्वाचन तालिकामा उल्लेख छ ।

मतदानमा लैजानुपर्ने अवस्थामा भोलि ११ देखि २ बजे सम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा राष्ट्रपति–उपराष्ट्रपति चयन गर्न गोप्य मतदान हुनेछ । साढे २ बजेबाट मतगणना सुरु गरी पौने ५ बजे निर्वाचन परिणाम सभामुख घर्तीसमक्ष पेश गर्ने र बेलुकी ५ बजे बस्ने संसद बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएको घोषणा हुने निर्वाचन अधिकृत मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।