Thaha

Sunday 22 September - 11:25 am NST

काग्रेसले वामपन्थीलाई राष्ट्रपति–प्रधानमन्त्री स्विकार्न चाहेन्–प्रधानमन्त्री

काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसमा वामपन्थीलाई राष्ट्रपति र प्रधानमन्त्री स्वीकार गर्न नसक्ने गलत मानसिकता रहेको बताउनुभएको छ । संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेस शीतल निवास र बालुवाटार आफ्ना लागि मात्रै बनेको हो भन्ने भ्रममा रहेको टिप्पणी गर्नुभयो ।

वामपन्थीहरुले काँग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै बनाउन सहयोग गरेपनि नेपाली काँग्रेसले वामपन्थीलाई ती पदमा स्वीकार गर्न र सहयोग गर्न नसकेको ओलीले बताएको एमाले सांसद हिराबहादुर केसीले जानकारी दिनुभयो ।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सहमति तोडेको भन्दै काँग्रेस र सभापति सुशील कोइरालाविरुद्ध आक्रोश व्यक्त गर्नुभयो । ‘वामपन्थीहरु राष्ट्रपति र प्रधानमन्त्री बन्नुहुन्न भन्ने काँग्रेसको दर्शन बनेको छ ।’ ओलीले सांसदहरुलाई सम्बोधन गर्दै भन्नुभयो– वामपन्थी राष्ट्रपति र प्रधानमन्त्री हुँदा काँग्रेसलाई टाउको दुख्नुपर्ने किन ?’

राष्ट्रपतिमा काँग्रेसलाइ समर्थन गर्न नसकिने भन्दै ओलीले वामपन्थीले लगाएको गुन तिर्न काँग्रेसले एमालेलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्ने बताउनुभयो ।