Thaha

Sunday 22 September - 10:38 am NST

राष्ट्रपतिमा नेपाली काँग्रेस र एमालेबीच प्रतिस्पर्धा

काठमाडौं, ८ कार्तिक । दलहरुबीच सहमति हुने संभावना क्षीण हुँदै गएपछि राष्ट्रपतिमा नेपाली काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । दिउँसो २ बजे काँग्रेससहित नयाँ बानेश्वरमा सर्वदलीय बैठकमा सहमतिका लागि एकपटक छलफल हुने भए पनि सहमति हुने स्थिति देखिएको छैन् ।

संसदले दिएको सीमा अनुसार साढे चार बजेसम्म सहमति गरिसक्नुपर्नेछ । काँग्रेस र एमाले दुवैले चुनाव लड्ने निर्णय गरिसकेका छन् । नेकपा एमालेले विद्या भण्डारीलाई उम्मेदवार बनाउने भएको छ भने नेपाली काँग्रेसले सहमति भए वर्तमान राष्ट्रपति र नभए कुलबहादुर गुरुङमध्येबाट एकजनालाई नै अघि सार्ने तयारी गरेको छ ।

नेपाली काँग्रेस र एमाले दुवै पार्टीका नेताले सहमति हुने संभावना नरहेको पनि बताएका छन् । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमालेको उम्मेदवारलाई समर्थन गर्न नसकिने बताउनुभयो । एमाले सचिव प्रदीप ज्ञवालीले काँग्रेस सहमतिमा आउन नचाहेको र सरकारमा आउने विषयमा पनि काँग्रेस प्रष्ट नभएकोले सहमतिको संभावना कम रहेको बताउनुभयो । एकीकृत नेकपा माओवादीले उपराष्ट्रपतिमा चुनाव लड्ने भएको छ । अमिक शेरचन र नन्दकिशोर पुनमध्ये एकजनालाई एमाओवादीले अघि सार्नेछ ।

पुनको संभावना बढी रहेको स्रोतले जनाएको छ । तर नेपाल परिवार दललगायत साना दलले पनि उपराष्ट्रपतिमा दाबी गरेका छन् । यसैबीच दलहरु राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका विषयमा आन्तरिक छलफलमा जुटेका छन् । एमालेले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ भने एकीकृत माओवादीले पनि आन्तरिक छलफलमा जारी राखेको छ । काँग्रेस पनि आन्तरिक छलफलको तयारीमा रहेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।