राष्ट्रपति र उपराष्ट्रपति चयन प्रक्रिया आजदेखि शुरु हुदै
काठमण्डौं, ८ कार्तिक ।
संसदबाट राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न आजदेखि प्रक्रिया शुरु हुँदैछ । संविधानको संक्रमणकालीन व्यवस्था अन्तर्गत मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्ने प्रक्रिया शुरु गर्न आज दिउँसो तीन बजे संसदको बैठक बस्दैछ । आज संसदमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गरी संसदका् महासचिवलाई निर्वाचन अधिकृत तोकिनेछ ।
सभामुख ओनसरी घर्ती मगरले संविधानको धारा २९७ को उपधारा २ बमोजिम सहमतिमा साझा उम्मेदवार तय गर्न दलहरुलाई भोलिसम्मको समय दिने र सहमति नभए तत्काल बहुमतीय प्रक्रिया सुरु हुने बताउनुभयो । भोलिसम्म सहमति नभए ढिलोमा ११ गतेभित्र बहुमतीय प्रक्रियाबाट राष्ट्रपति र उपराष्ट्रपति चयन हुने सभामुख घर्तिमगरले बताउनुभयो ।
दलहरुबीच विवाद भएकोले अहिलेसम्म सहमतिमा राष्ट्रपति चयन हुने संभावना देखिएको छैन । सहमतिमा नभए बहुमतीय प्रक्रियामा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गोप्य मतदान हुनेछ । निर्वाचन प्रक्रिया सुरु हुनै लाग्दासमेत दलहरुले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । यसैबीच दलहरु राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार छनौट गर्ने विषयमा आन्तरिक र द्विपक्षीय छलफलमा जुटेका छन् ।


