Thaha

Sunday 22 September - 10:30 am NST

ईन्धन उपलब्ध गराउन सरकारले चीनलाई पत्र पठायो


काठमाण्डौ, ७ कात्तिक ।

भारतको नाकाबन्दीका कारण संकट बढ्दै गएपछि सरकारले उत्तरको छिमेकी चीनलाई इन्धन उपलब्ध गराईदिन औपचारिक आग्रह गरेको छ । सरकारले शुक्रवार राति चिनियाँ परराष्ट्र मन्त्रालयलाई ईन्धन उपलब्ध गराई दिन पत्र पठाएको छ ।  


प्रधानमन्त्री केपी ओलीको निर्देशन चीनलाई पत्र पठाइएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको लिखित आग्रहमा परराष्ट्र मन्त्रालयले इन्धन आपूर्तिको व्यवस्था मिलाइदिन आग्रह गर्दै पत्र लेखेको स्रोतले जनाएको छ । ‘नेपाल गम्भीर प्रकारको संकटमा रहेकाले असल छिमेकीका नाताले नेपालका लागि आवश्यक पर्ने परिमाणमा डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यास उपलब्ध गराइदिन नेपाल सरकार आग्रह गर्दछ’ पत्रमा भनिएको छ । अब दुई दिन भित्र परराष्ट्र, अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोली चीन पठाउने सरकारले तयारी गरेको छ । तीन दिनको प्रयासमा पत्र पठाउने काम भएको स्रोतको भनाई छ ।  


पत्राचार गर्नुअघि शुक्रवार दिउँसो एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियतामा बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, चीनका लागि नेपाली राजदूत महेश मास्के र नेपालका लागि चिनियाँ राजदूत ऊ छुन्ताइबीच छलफल भएको थियो । छलफलमा चिनियाँ राजदूत छुन्ताईले सकारात्मक जवाफ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ मन्त्री पुनसहित सम्वद्ध मन्त्रालयका पदाधिकारी बालुवाटार बोलाएर तत्काल चीन सरकारलाई औपचारिक पत्र पठाउन निर्देशन दिनुभएको थियो । नेपाल आयल निगमले यसअघि १५ दिनका लागि आवश्यक पेट्रोलियम पदार्थ आपूर्तिका लागि बोलपत्र आह्वान गरेकामा चिनियाँ कम्पनीले पनि तेल दिने भन्दै टेण्डर भरेको थियो । 


नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भारतले एकमहिना देखि गरिरहेको  नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको चरम संकट ।