Thaha

Sunday 22 September - 9:14 am NST

पहिलो महिला बटालियन कमिसारदेखि पहिलो महिला सभामुख सम्म


काठमण्डौं, २९ असोज । 
एकीकृत माओवादीकी सांसद् ओनसरी घर्तिमगर सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ । आज बसेको संसद बैठकले घर्तिमगरलाई निर्विरोध सभामुख चयन गरेको हो । नेपाल मजदुर किसान पार्टीका सांसद् अनुराधा थापामगरले उमेद्वारी फिर्ता लिएपछि जेष्ठ सदस्यको हैसियतमा संसद बैठकको अध्यक्षता गरिरहेका लक्ष्मण राजवंशीले घर्ति सभामुख निर्वाचित भएको घोषणा गर्नुभयो । 

घर्ति नेपालको आठौं र पहिलो सभामुखमात्रै होईन नेपालको सर्वोच्च पदमा पुग्ने पहिलो महिला बन्नुभएको छ । नव निर्वाचित सभामुख ओनसरी घर्तिको जन्म २०३४ कात्तिक २८ गते रोल्पाको जङ्कोटमा भएको हो । पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् बनेकी घर्तिले दोस्रो संविधानसभा चुनावमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो । उहाँ नेपालको आँठौ र पहिलो महिला सभामुख हुनुभएको छ । एकीकृत माओवादीका पोलिटब्युरो सदस्य घर्ति यसअघि उपसभामुख हुनुहुन्थ्यो भने झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । रोल्पा सदरमुकाम लिवाङको बालकल्याण माविबाट एसएलसी पास गरेकी घर्ति नौ कक्षामा पढ्दै गर्दा नै राजनीतिमा आबद्ध हुनुभयो । ०५२ मा तत्कालीन नेकपा (माओवादी)को एरिया सदस्य भइसकेकी घर्ति माओवादीले सशस्त्र युद्ध सुरु गरेकै दिन २०५२ फागुन १ गते होलेरीको इलाका प्रहरी कार्यालयमाथि आक्रमणमा सहभागी हुनुभयो । सशस्त्र द्वन्द्वकैै क्रममा ०५९ मा पूर्वी क्षेत्रमा गएर माओवादी लडाकूको बटालियन कमिसारको जिम्मा लिनुभयो । घर्ति माओवादीभित्र बटालियन कमिसार हुने पहिलो महिला हुनुहुन्छ । 

०६१ को अन्तिमतिर घर्तिले उपत्यका र आसपासको जिम्मेवारी सम्हाल्नुभयो र जनआन्दोलन सुरु हुने बेला उहाँ काभ्रे र रामेछापको इन्चार्ज हुनुहुन्थ्यो । ०५२ भदौ ११ गते एकीकृत माओवादीका सचिव वर्षमान पुन अनन्तसँग विवाह गरेकी घर्तिका एक छोरा र एक छोरी छन् ।