Thaha

Sunday 22 September - 9:14 am NST

सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउन एमाओवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं, २७ असोज । सरकारको नेतृत्व गर्दै सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउन एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक बस्दैछ । बिहान १० बजेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने बैठकले उपप्रधान सहित गृहमन्त्री सम्हालेर सरकारको नेतृत्व गर्ने व्यक्ति र मन्त्रीको पनि टुंगो लगाउने कोषाध्यक्ष एवं कृषि मन्त्री हरिबोल गजुरेलले जानकारी दिुनभयो ।

माओवादीले उपप्रधान एवं गृह सहित ८ मन्त्रालय पाउने सहमति भएको छ । एकीकृत माओवादीले महासचिव कृष्णबहादुर महरा र टोप बहादुर रायमाझी मध्ये एकलाई नेतृत्व गर्दै सरकारमा पठाउने तयारी गरेको छ । स्रोतका अनुसार महराले सभामुखमा चासो नदिएपछि सरकारको नेतृत्व गर्ने सम्भावना बढी छ । माओवादीले राष्ट्रपति र सभामुखमा पनि दावी गरेको छ । राष्ट्रपति नपाएमा भने नेता नन्दकिशोर पुन पासाङलाई उपराष्ट्रपति बनाउने माओवादीको तयारी रहेको स्रोतले बताएको छ ।

सभामुखमा भने माओवादी नेताहरुले त्यति चासो दिएका छैनन् । सभामुख एकीकृत माओवादीका नेताहरुको रोजाईमा नपरेमा अहिलेकै सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख ओनसरी घर्तीलाई निरन्तरता दिइनेछ । तर त्यसो गर्दा राप्रपा नेपाललाई चित्त बुझाउन गाह्रो हुने श्रोतको दावी छ । राप्रपा नेपालले उपसभामुख पाएमा कुन्ती कुमारी शाहीलाई पठाउने तयारी गरेको छ । राष्ट्रपति पाएमा एमालेले विद्या भण्डारीलाई अघि सार्ने तयारी गरेको छ ।