Thaha

Sunday 22 September - 9:08 am NST

सरकारमा जाने मन्त्रीको टुंगो लगाउन एमाओवादी आन्तरिक छलफलमा

काठमाडौं, २६ असोज । सरकारमा जाने मन्त्रीको टुंगो लगाउन एकीकृत नेकपा माओवादी आन्तरिक छलफलमा जुटेको छ । उपप्रधान एवं गृहमन्त्री भएर पार्टीको तर्फबट सरकारमा नेतृत्व गर्ने व्यक्ति र अन्य मन्त्रीको टुंगो लगाउन एकीकृत माओवादीको पदाधिकारी बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पार्टमा जारी बैठकले महासचिव कृष्ण बहादुर महरा, सचिव टोप बहादुर रायमाझी वा शक्ति बहादुर बस्नेत मध्येबाट सरकारको नेतृत्व गर्ने एकजनाको टुंगो लगाउनेछ ।

बैठकमा आफूले पाउने उपराष्ट्रपति र सभामुखका बारेमा पनि छलफल हुने माओवादीले जनाएको छ । यस्तै नेकपा एमालेको स्थाई कमिटि बैठक पनि आजै बस्दैछ । मन्त्रीका आकांक्षी धेरै भएको र एउटै मन्त्रालयमा पनि दलहरुको दावी भएकाले मन्त्री छान्न दलहरुलाई हम्मेहम्मे परेको छ । नयाँले पनि आश गर्नु स्वभाविक भएको र पुरानाहरुले पनि अनुभवका आधारमा दावी गरेकाले केही समस्या भएको स्वीकार गर्दै एमाले सचिव प्रदिप ज्ञवालीले स्थाई कमिटि बैठकबाट निर्णय हुने बताउनुभयो ।

प्रधानमन्त्री पछिको वरिष्ठताका आधारमा कार्यवाहक प्रधानमन्त्री को हुने भन्नेमा पनि एकमत छैन । आफूले रोजेको गृह वा रक्षा मन्त्रालय नपाउने भएपछि उपाध्यक्ष भिम रावल सरकारमा नजाने हुनुभएको छ । अर्थमन्त्रीको जिम्मेवारी उपमहासचिव विष्णु पौडेलले पाउने लगभग पक्का भएको सचिव ज्ञवालीले बताउनुभयो । राप्रपाले महामन्त्री विक्रम पाण्डे र सुनिल बहादुर थापालाई मन्त्री बनाउने तयारी गरेको छ । तर पार्टी भित्रको आधिकारिकता विवाद समाधान नहुँदासम्म राप्रपाका मन्त्री सरकारमा नजाने भएका छन् ।

लोकेन्द्र बहादुर चन्द र पशुपति शमशेर राणा मध्ये कुन आधिकारिक हो भनेर निर्वाचन आयोगले निर्णय गरेपछि मात्र आफूहरु सरकारमा सहभागि हुने गरी चन्दले हिजो प्रधानमन्त्री ओलीलाई पत्र पठाउनु भएको थियो । प्रधानमन्त्री के पी शर्मा ओलीले हिजो एमालेका ३, राप्रपा नेपालका २, एकीकृत माओवादीका एक, फोरम लोकतान्त्रिकका एक र साना दलको तर्फबाट एक जना गरी  ९ सदस्सीय मन्त्री परिषद् गठन गर्नुभएको थियो ।