Thaha

Sunday 22 September - 9:19 am NST

ओलीको सपथ आज,ओलीसंगै केही मन्त्रीले पनि सपथ लिने तयारी


काठमाडौं, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिदै हुनुहुन्छ । दिउँसो एक बजे राष्ट्रपति भवन सित्तल निवासमा हुने विशेष समारोहमा राष्ट्रपति डाक्टर रामवरण यादवबाट ओलीले पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री ओलीसंगै आजै केही मन्त्रीले पनि सपथ लिने तयारी गरेका छन । सपथ ग्रहण समारोह लगत्तै ओलीले आजै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका नेता सूर्य थापाले जानकारी दिनुभयो । नेकपा एमालेका अध्यक्ष ओली हिजो व्यवस्थापिका संसदमा भएको निर्वाचनबाट मुलुकको ३८ औं प्रधानमन्त्री बन्नु भएको थियो । यसैविच ओलीले आज सानो आकारको मन्त्रीपरिषद् गठन गर्नुहुने भएको छ ।

त्यसका लागि नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राप्रपा नेपाल लगायत अरु साना दलहरु समेत मन्त्रालय भागबण्डामश अनौपचारिक छलफलमा जुटेका छन  । एमाले स्थायी समिति बैठक बस्ने तयारी भएको छ भने एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक केहीबेरमा  अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बस्नेछ । त्यस्तै राप्रपा नेपाल पनि आन्तरिक छलफलमा जुटेको नेता दीलनाथ गिरीले बताउनु भयो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि आन्तरिक छलफलमा जुटेको छ ।

एमालेबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल लगायत मन्त्री बन्नेछन । एमालेले अर्थ, सूचना तथा संचार लगायतका मन्त्रालय लिनेछ । एकीकृत माओवादीबाट महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटा, रेखा शर्मा लगायत मन्त्री बन्ने तयारीमा छन ।

एकीकृत नेकपा माओवादीले उपप्रधान तथा गृहमन्त्रालय सहित सरकारमा प्रतिनिधित्व गर्नेछ । त्यस्तै राप्रपा नेपालबाट अध्यक्ष कमल थापाले उपप्रधान तथा परराष्टमन्त्रीको रुपमा आजै सपथ लिने तयारी छ । राप्रपा नेपालले स्थानीय विकास र पर्यटन मन्त्रालय पाउने छ  । त्यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भौतिक योजना तथा निर्माण मन्त्रालय सहित उपप्रधानमन्त्री बन्ने तयारी भएको छ ।