Thaha

Sunday 22 September - 9:22 am NST

सडक आन्दोलन खुकुलो पार्ने मधेसी मोर्चाको तयारी

काठमाडौं, २५ असोज । नयाँ सरकार बनेसँगै दुई महिना भन्दा बढी समयदेखि आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सडक आन्दोलन फिर्ता लिने संकेत गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन जारी रहने तर परिस्थिती हेरेर स्वरुप परिवर्तन गरिने बताउनुभयो ।

दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिएको र बन्दका कारण नागरिकले सास्ती भोग्नुपरेको भन्दै आन्दोलनको स्वरुप बदल्ने बिषयमा मोर्चामा छलफल हुने उहाँले बताउनु भयोे । थाहा संचार नेटवर्कसँग कुरा गर्दै यादवले माग पूरा गर्न नयाँ सरकार तयार भए आफूहरुलाई आन्दोलन गरिरहन रहर नलागेको बताउनुभयो । संविधानसभाबाट संविधान जारी हुनु अघि संविधानसभा बहिस्कार गरेको मोर्चाले हिजो संसदमा भएको प्रधानमन्त्रीको चुनावमा सुशील कोईरालालाई मतदान गरेको थियो ।

त्यस्तै संविधानमा हस्ताक्षर गर्न नमानेर संविधानसभाबाट बाहिरिएको बिजय कुमार गच्छेदार नेतृत्वको मोर्चा पनि आठ बुँदे सहमति गर्दै सत्ता बाँडफाँडमा सहभागी भइसकेको छ । यसैबीच तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले मोर्चाका नेताहरुको सत्ता लिप्साले मधेश आन्दोलनले नागरिकप्रतिको विश्वास गुमाएको बताउनु भएको छ ।

थाहा संचार नेटवर्कसँग कुरा गर्दै गुप्ताले सत्ताका लागि मधेश आन्दोलन गरिएको पुष्टि भएको बताउनुभयो । मधेशी जनताका अधिकार प्राप्तिको मुद्दालाई केही सिमित नेताले आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गरेको गुप्ताको टिप्पणी छ । मोर्चाका नेताहरुले कसैको इसारामा आन्दोलन छाडेपनि आफूहरुले नागरिकलाई दुख नहुनेगरी आन्दोलन अगाडी बढाउने गुप्ताले बताउनु भयो ।