Thaha

Sunday 22 September - 7:15 am NST

मुलुकको नयाँ प्रधानमन्त्री आज, ओली र कोइराला मैदानमा

 
काठमाडौं, २४ असोज । मुलुकको ३८ औं प्रधानमन्त्री चयनका लागि संसदमा आज चुनाव हुँदैछ । बिहान ११ बजे बस्ने व्यवस्थापिका संसद बैठकले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष के पी ओली मध्येबाट एक जनालाई प्रधानमन्त्रीलाई निर्वाचित गर्नेछ । दुबै उम्मेदवारले आफ्ना कुरा राखि सकेपछि प्रस्तावक र समर्थकलाई बोल्न समय दिइनेछ ।

प्रस्ताव फिर्ता लिन समय दिइने र फिर्ता नलिएमा दुबैको एकै पटक लिखित मतदान हुनेछ । लिखित मतदान हुने भएकाले मत चोरिने सम्भावना कम रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिले दिएको एक हप्तामा सहमती नभएपछि बहमुतीय प्रकृयाद्धारा प्रधानमन्त्री चयन गर्न लागिएको हो । प्रधानमन्त्रीमा निर्वाचित हुनका लागि २ सय ९९ जना सांसदको समर्थन चाहिन्छ । हाल संसदमा ५ सय ९८ जना सांसद छन् ।

 अहिलेसम्मको अवस्थामा कोइरालाभन्दा ओली बलियो देखिनु भएको छ । ओलीको प्रस्तावक एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक हुनुहुन्छ । ओलीलाई राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टीको समर्थन छ ।

त्यस्तै नेपाली जनता दल, नेपाः राष्ट्रिय पार्टी, नेपाल परिवार दल, मधेस समता पार्टी, नेकपा संयुक्त र स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले पनि ओलीलाई सघाउने निर्णय गरेका छन् । नेपाल मजदुर किसान पार्टीले अहिले केही बेरमा बैठक बसेर निर्णय गर्ने जनाएको छ । एमालेका एक सय ८३ जना, एकीकृत माओवादीका, ८३, राप्रपा नेपालका २५, राप्रपाका १२ जना संसद छन् । यो संख्या जोडदा पनि ओलिको बहुमत पुग्छ त्यस बाहेक अन्य १४ दलको समर्थन पनि ओलिको पक्षमा भएकाले ओलिको जित निश्चित छ ।