Thaha

Sunday 22 September - 7:18 am NST

सरकारको नेतृत्वका लागि दलहरु आन्तरिक छलफलमा

काठमाडौं, २३ असोज । आगामी सरकारको नेतृत्वका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन । नेकपा एमालेले सरकारको नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अगाडी सारेको छ । एकीकृत नेकपा माओवादीले एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताएको छ । तर व्यवस्थापिका संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले भने आगामी सरकारको नेतृत्वको विषयमा अहिलेसम्म कुनैपनि निर्णय गरेको छैन । काँग्रेसले आज निर्णय लिनेछ ।

त्यसका लागि   काँग्रेसका शीर्षनेताहरु छलफलमा जुटेका छन । हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीका लागि आकांक्षी शीर्ष तीन नेतालाई निर्णय गर्ने जिम्मेवारी दिए अनुसार प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आजै सरकारको नेतृत्वमा दावी गर्ने या नगर्ने भन्ने विषयको टुंगो लगाउने छन ।

काँग्रेसमा सरकारको नेतृत्व आफ्नो दलकै हुनुपर्ने दबाब बढेको छ । एकीकृत माओवादीले समर्थन गरे काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी दिनेछ । दोस्रो ठूलो दल नेकपा एमालेले अध्यक्ष ओलीको समर्थनमा दलहरुसंग लविङ्ग थालेको छ । उसले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्नेदलसंग भेटवार्तालाई निरन्तरता दिएको छ ।

त्यस्तै निर्णायक मानिएको एकीकृत नेकपा माओवादीले एमाले अध्यक्ष ओलीको नेतृत्वमा सहमतिय सरकार गठन गर्ने निर्णय गरिसकेको छ । तर सरकार गठनका लागि आठ बुँदे सर्त अगाडी सारेको छ । एकीकृत माओवादीको स्थायी समिति बैठक अहिले बसिरहेको छ ।