Thaha

Sunday 22 September - 7:38 am NST

सरकार गठनका लागि बहुमतिय प्रक्रिया सुरु

काठमाडौं, २२ असोज ।  नयाँ सरकार गठनका लागि आजदेखि बहुमतिय प्रक्रिया सुरु हुँदैछ । संविधानको धारा २ सय ९८, २ बमोजिम सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा भित्र सहमति सरकार गठन नभएपछि आजदेखि संविधानको धारा १ सय ९८ , ३ अनुसार बहुमतीय प्रक्रिया सुरु हुन लागेको हो ।

दिउँसो एक बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति कार्यालयबाट प्राप्त हुने बहुमतीय सरकार गठनको आव्हानसहितको पत्र पढेर सुनाउनु हुनेछ । आजैको बैठकमा सभामुख नेम्वाङले संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकेर निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईँकेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन कार्यक्रम भोलीदेखिनै शुरु हुनेछ ।  

भोली नै प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्नुपर्ने र पर्सि निर्वाचन मार्फत् देशले नयाँ प्रधानमन्त्री पाउने कार्यतालिका तयार गरिएको सचिवालयले जनाएको छ । संसदको अन्तरिम कार्यबिधी २०७२ अनुसार सांसदले मत दिन्न भन्न नपाउने र कसैको बहुमत नआए तत्काल अर्काे निर्वाचन गर्नुपर्ने प्रावधान भएकाले बिगतजस्तो एउटै ब्यक्ति धेरै पटक असफल हुनु नपर्ने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निर्वाचित हुनका लागि संसदमा कायम रहेका ५ सय ९८ मध्ये ३ सय सांसदको समर्थन आवश्यक पर्छ । बैठकले आजै नयाँ संविधानअनुसार संसदको नयाँ नियमावली बनाउनका लागि समिति पनि गठन गर्ने सहप्रवक्ता कुईँकेलले बताउनुभयो ।