Thaha

Sunday 22 September - 7:19 am NST

कांग्रेसभित्र भारतले गरेको अघोषित नाकाबन्दीको विषयलाई लिएर विवाद

काठमाडौं, २० असोज । नेपाली कांग्रेसभित्र भारतले गरेको अघोषित नाकाबन्दीको विषयलाई लिएर विवाद भएको छ । कांग्रेसका पदाधिकारी र सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले भारतले नाकाबन्दी नगरेको भनेर दाबी गरेका छन् । केन्द्रीय सदस्यहरुले भने भारतले नाकाबन्दी नै गरेको भन्दै यसलाई खुलाउन पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

आजको केन्द्रीय समिति बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री रामशरण महतले भारतले नाकाबन्दी नगरेको भन्दै बैठकमा ब्रिफिङ गर्नुभएको छ । मुलुक ठप्प भईसक्दा समेत अर्थमन्त्री  महतले भारतले नाकाबन्दी नगरेको भन्दै विभिन्न तर्क पेश गरेको स्रोतले जनाएको छ ।  महतले अहिले केही असहजता मात्रै देखिएको भन्दै सरकारले कुटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । भारतले केही सामान पठाएकाले यसलाई नाकाबन्दी भन्न नमिल्ने अर्थमन्त्री महतको तर्क छ ।

अर्थमन्त्री महतको भनाईमा कांग्रेसका सबैजसो पदाधिकारीले समर्थन जनाएका स्रोतले जनाएको छ । तर, कन्द्रीय सदस्य गगन थापा, बालकृष्ण खाँड लगायतले आपत्ति जनाउँदै भारतीय नाकाबन्दीबारे कांग्रेसले प्रष्ट धारणा बनाउनु पर्ने माग गरेका छन । केन्द्रीय सदस्य सदस्य थापाले अघोषित नाकाबन्दी विरुद्ध पार्टीले खेद व्यक्त गर्नुपर्नेमा जोड दिनुभएको छ । खाँडले चाहीँ मन्त्रीहरुले नै नाकाबन्दी गरेको छैन भनेपछि किन खेद प्रस्ताव पारित गरिराख्नु भन्दै ब्यङ्ग्य गरेको स्रोतले जनाएको छ । विवाद भएपछि कांग्रेसले समस्या समाधानका लागि सरकारलाई कुटनीतिक पहल गर्न आग्रह गर्ने निर्णय गरेको छ । तर निर्णयमा कांग्रेसले नाकाबन्दीबारे प्रष्ट बोलेको छैन ।