Thaha

Tuesday 06 October - 9:24 pm NST

प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज पनि वार्ता


काठमाडौं, २० असोज । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज पनि वार्ता हुँदैछ । विहान ११ बजे पछि प्रमुख तीन दलले गठन गरेको तीन सदस्सीय र मोर्चाले गठन गरेको ४ सदस्सीय  टोली बीच वार्ता हुन लागेको एमाले नेता अग्नि खरेललले जानकारी दिनुभयो ।  हिजो भएको वार्ता राजनीतिक विषय वस्तुमै प्रवेश नगरी विना निष्कर्ष सकिएको थियो । विषय वस्तुमा प्रवेश गर्नका लागि मोर्चाले ५ वटा सर्त राखेको छ ।

मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको निशुल्क उपचार, निषेधित क्षेत्र र विभिन्न ठाउँमा गरिएको सेना परिचालन फिर्ता तथा तराई मधेसमा भएको आन्दोलनको छानविनका लागि आयोग गठन गर्नु पर्ने सर्त पूरा भएपछि मात्र विषय वस्तुमा केन्द्रित छलफल हुने मोर्चाको वार्ता टोलिका सदस्य राम नरेश रायले जानकारी दिनुभयो ।

हिजोको वार्तामा यी सर्त पूरा गर्न शिर्ष नेतृत्वसँग छलफल गरेर आउन तीन दलको वार्ता टोलिले प्रतिवद्धता जनाएकाले त्यो पूरा भए आजको वार्ता विषय वस्तुमा प्रवेश गर्ने रायको भनाई छ । सीमांकनको हेरफेर गर्ने विषयमा प्रमुख दलहरुसँग ठोस प्रस्ताव मागेको मोर्चाले सीमाङ्कन आयोगलाई जिम्मा दिने गरी प्रस्ताव नल्याउन पनि भनेको छ ।