Thaha

Monday 10 March - 6:55 pm NST

कांग्रेसको केन्द्रिय समिति बैठक सरकारको नेतृत्वको वारेमा केन्द्रित रहने

काठमाडौं, २० असोज । नेपाली कांग्रेसले आजको केन्द्रीय समिति बैठकबाट आगामी सरकारको नेतृत्वका बारेमा निर्णय गर्ने जनाएको  छ । यसअघि सरकारको नेतृत्व नेकपा एमालेलाई दिने भद्र सहमती भएको भनिए पनि प्रधानमन्त्री सुशील कोइरालाले त्यो आफ्नो व्यक्तिगत निर्णय मात्र भएको भन्दै पार्टीमा छलफल गरेर आधिकारिक निर्णय धारणा सार्वजनिक गर्ने बताउनु भएको थियो ।

त्यही सहमती अनुसार सरकारको नेतृत्व आफूले पाउनु पर्ने भन्दै नेकपा एमालेले अध्यक्ष के पी शर्मा ओलाीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपनि कांग्रेस सहमत भएको छैन । एकीकृत माओवादी सहित अन्य दलले पनि अवको प्रधानमन्त्री ओली हुनु पर्ने बताएका छन् । कांग्रेस नेताहरुले पार्टी भित्रैबाट ओलीको विकल्प खोज्नु पर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री कोइरालाले आफू प्रधानमन्त्रीको दावेदार नभएको बताए पछि देउवा पक्ष शेरबहादुरलाई नै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने पक्षमा देखिएको छ भने उपसभापति रामचन्द्र पौडेल र नेता डाक्टर रामशरण महतले पनि आफू उम्मेदवार बन्ने जिकिर गर्दै आउनु भएको छ ।