Thaha

Sunday 22 September - 4:40 am NST

प्रधानमन्त्रीको कुरा सुनेपछि ओली बैठक छोडेर हिंडे



काठमाण्डौ, १८ असोज । प्रधानमन्त्री सुशील कोईरालाले पहिलेको सहमतिभन्दा पछि हट्न खोजेको र सरकारका विषयमा कुरा गर्न नखोजेको भन्दै एमाले अध्यक्ष केपी ओली तीन दलको बैठक छोडेर हिड्नुभएको छ । 

बहिस्कारकै शैलीमा ओलीले बालुवाटारबाट बैठक छोेडेर हिंडेको स्रोतले जनाएको छ । ओलीले सरकारका विषयमा प्रष्ट कुरा गर्न चाहेपनि प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोईरालाले कुरा मोडेपछि ओलीले बैठक छोड्नुभएको छ ।

बैठकमा प्रधानमन्त्रीले ओलीलाई एमालेले मात्रै प्रधानमन्त्री बनाउने निर्णय गरेर मात्रै नहुने, काँग्रेस र एकीकृत माओवादीले पनि निर्णय गर्नुपर्ने जवाफ दिएपछि ओली असन्तुष्ट भएको स्रोतले जनाएको छ । 
बैठकमा ओलीले ‘सरकारबारे ठोस रुपमा कुरा गरौं मेरो पनि केही भन्नु छ ।’  भनेपछि प्रधानमन्त्री कोईरालाले ‘एमालेले मात्रै निर्णय गरेर भएन, काँग्रेस र एकीकृत माओवादीले पनि संस्थागत निर्णय गर्नुपर्छ ’ भनेर कुरा तर्काएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ओलीसँगै अरु नेता पनि बैठक छोडेर हिंडेका थिए । तर प्रधानमन्त्री कोइरालाले आफू फेरि प्रधानमन्त्री हुन लागेको भन्दै पत्रपत्रिकाको समाचारमा विश्वास भने नगर्न आग्रह गर्नुभएको छ ।