Thaha

Sunday 22 September - 4:55 am NST

राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मुख्य तीनदलबीच सहमति


काठमाडौं, १८ असोज । राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मुख्य तीनदलबीच सहमति भएको छ । तर कस्को नेतृत्वमा के कसरी सरकार गठन गर्ने भन्ने विषयमा अझै सहमति जुट्न बाँकी रहेको नेताहरुले बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको तीनदलको बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले बाहिर जे जस्तो कुरा आएपनि आफू सहमति सहकार्य र एकताकै पक्षमा रहेको बताउनु भयो ।

उहाँले आफू पहिलेको भद्र सहमतिका लागि तयार रहेपनि पार्टीले आधिकारीक निर्णय गर्नुपर्नेमा जोड दिनु भएको छ । बैठकमा नेकपा एमाले र एकीकृत नेकपा माओवादीले पहिलेकै सहमति अनुसार सरकार गठन हुनुपर्ने धारणा राखेका थिए । बैठकले भारतले गरेको नाकाबन्दीको विषयमा सरकारले कुटनीतिक पहलबाट समस्या समाधान गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा बोल्दै एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अघोषित नाकाबन्दी खोलेको बताएपनि  पेटोलियम पदार्थ लगायत अन्य सामाग्री आयात निर्यात हुन नसकेको भन्दै सरकारले जिम्मेवार भएर  कुटनीतिक समाधान खोज्नुपर्ने बताउनु भएको थियो ।

बैठकले नाकाबन्दी खोलेपनि सामान आउन नसक्नु आपत्ती जनक भएको र यस विषयमा उच्च राजनीतिक नेतृत्वले कुटनीतिक पहल गर्ने निर्णय गरेको छ ।   नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनगर्ने प्रस्ताव गरेको छ भने नेपाली काँग्रेसले प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार तय गरेको छैन ।

यसैबीच आजै सहमतिय सरकार गठनका लागि व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्नेदलहरुको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा सहमतिय सरकार गठनका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । संवैधानिक व्यवस्थाका कारण प्रमुख दलहरुलाई प्रधानमन्त्रीसँगै सभामुख÷उपसभामुखको चयनका लागि पनि दवावमा परेका छन् ।