Thaha

Sunday 22 September - 4:36 am NST

प्रमुख दलहरु प्रधानमन्त्रीसँगै सभामुख,उपसभामुखको चयनका लागि पनि दवावमा


काठमाडौं, १७ असोज । प्रमुख दलहरु प्रधानमन्त्रीसँगै सभामुख, उपसभामुखको चयनका लागि पनि दवावमा परेका छन् । समयको चापका कारण दलहरु प्रधानमन्त्री, सभामुख, उपसभामुख र राष्ट्रपति, उपराष्ट्रपतिको पनि भागबण्डा गरेर चयन गर्न दवाव परेको हो ।

नयाँ संविधानको ब्यवस्था अनुसार २८ गते भित्र सभामुख उपसभामुखको पनि टुंगो लगाउनु पर्नेछ । संसद अधिवेशन शुरु भएको ७ दिन भित्र प्रधानमन्त्री चयन गर्नु पर्ने भए पनि अधिवेशन आब्हान भएको मितिले २० दिन भित्र सभामुख÷उपसभामुखको चयन गर्नु पर्ने संवैधानिक प्रावधानले दलहरुलाई दवाव परेको हो ।

असोज ८ गते अधिवेशन आब्हान भएकाले २८ गते भित्र सभामुख उपभामुख र कात्तिक ८ गते भित्र राष्ट्रपति उपराष्ट्रपतिको चयन गरिसक्नु पर्छ । २२ गतेसम्म सहमतिका  आधारमा प्रधानमन्त्री चयन हुने सम्भावना न्यून रहेकाले त्यसपछि बहुमतिय प्रकृया शुरु हुनेछ ।

राष्ट्रपति डाक्टर रामबरण यादवले सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न दिएको समय २२ गते सकिन्छ । दलहरुको आग्रहमा राष्ट्रपतिले सहमतिका लागि थप केही दिन दिनसक्ने र बहुमतिय प्रकृयाका लागि समय निर्धारण नगरिएकाले पनि तत्काल प्रधानमन्त्रीको टुंगो लाग्ने सम्भावना देखिएको छैन । केही विधेयक पेश गरेर आजको संसद बैठक २२ गतेसम्मलाई स्थगित गर्ने सचिलायको तयारी छ ।